• थप १,९२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

    ६ भाद्र २०७८, आईतवार

    नेपालमा थप १,९२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २७ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,५०९ पुगेको छ।आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १२,५१६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।तीमध्ये ३,०७३ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २,२४८ जना सङ्क्रमणमुक्त भएका छन्।अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

    तीमध्ये ३,१९६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।अस्पतालमा उपचार गराइरहेकामध्ये ६८१ जना सघन उपचार कक्ष आईसीयूमा र १६९ जना भेन्टिलेटरमा छन्।विगत २४ घण्टामा सबैभन्दा बढी काठमाण्डौं जिल्लामा ३९५ सङ्क्रमित भेटिएका हुन्।नेपालभरि २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १७ जिल्लामा २०० देखि ४९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।

    ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ।उक्त प्रदेशका काठमाण्डौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी छ।गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा, स्याङ्जा र तनहुँमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।प्रदेश १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।लुम्बिनी प्रदेशका दुई जिल्ला दाङ र रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेत अनि सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि सङ्ख्या ५०० माथि छ।

    फेसबुक प्रतिक्रिया