• नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङका कोरोना नियन्त्रणमा ५ बाचा

    २५ जेष्ठ २०७८, मंगलवार

    नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले “कोरोनाभाइरस कहरबाट देशलाई मुक्त गर्नु” आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन्।

    सोमवार स्वास्थ्यमन्त्रीका रूपमा पहिलो पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले उक्त प्रतिबद्धता जनाएका हुन्।उनले “विगतमा स्वास्थ्य मन्त्रालयले गरेका कतिपय निर्णय विवादित भएको” प्रसङ्ग उप्काउँदै आफ्नो पालामा पारदर्शिता अपनाइने प्रतिबद्धता पनि जनाए।

    स्वास्थ्यमन्त्रीले जनाएका मुख्य पाँच प्रतिबद्धताहरू:

    १. कोरोनाभाइरस कहरबाट देशलाई मुक्ति

    मन्त्री तामाङले आफ्नो मुख्य प्राथमिकता नै कोरोनाभाइरस नियन्त्रण भएको बताए।उनले भने, “मेरो अहिलेको प्राथमिकता भनेको प्राथमिकता नम्बर एक, प्राथमिकता नम्बर दुई, प्राथमिकता नम्बर तीन सबैभन्दा पनि मेरो प्राथमिकता भनेकै आज कोरोनाको कहरबाट नेपाली जनतालाई मुक्त गर्ने र कोरोनाविरुद्ध लडाइँ लड्ने हो।”उनले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए।कोरोनाभाइरस नियन्त्रणका लागि धेरैभन्दा धेरै नेपालीलाई खोप लगाउने सरकारी लक्ष्य रहेको र त्यसका लागि आफूले पहल गर्ने तामाङको भनाइ छ।

    २. परीक्षणको दायरा बढाउने

    पछिल्ला दिनमा कोरोनाभाइरसको परीक्षणको दायरा साँघुरो भएको भन्ने गुनासो आइरहेको सम्बन्धमा मन्त्री तामाङलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए।त्यसको उत्तर दिँदै उनले आफूले परीक्षणको दायरालाई बढाउन आवश्यक सबैखाले काम गर्ने बताए।”जति धेरै परीक्षणको दायरालाई बढाउँछौँ, जति धेरै परीक्षणबाट सङ्क्रमित हो भन्ने प्रमाणित हुन्छ र उनीहरूलाई आइसोलेशनमा राखेर वा जटिलता आएमा अस्पतालमा राखेर उपचार गर्न सक्यौँ भने हामी थप सङ्क्रमण हुने कुरालाई घटाउन सक्छौँ भन्ने हामीलाई विश्वास छ।”उनले परीक्षणको दायरा बढाउन हरेक पालिकामा अहिले एन्टिजन परीक्षण किटहरू पठाइसकिएको जानकारी दिए।तर प्राविधिक जनशक्ति नहुँदा पदाधिकारीहरूले परीक्षणबारे सोधिरहेको जानकारी दिँदै उनले चाँडै त्यस्तो अवस्थाको अन्त्य गरिने प्रतिबद्धता उनले जनाए।

    ३. ‘पहिलो मात्रा लगाएकाले चाँडै खोप पाउँछन्’

    मन्त्री तामाङले पहिलो मात्रा कोभिशील्ड खोप लगाएका १३ लाख ज्येष्ठ नागरिकहरूले चाँडै दोस्रो मात्रा पनि पाउने बताए।यद्यपि उनले उक्त खोप कसरी प्राप्त हुन्छ भन्ने खुलाउन सकेनन्।गत फागुनमा पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकहरूले समय घर्किसक्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन्।उनले खोप ल्याउनका लागि सरकारले “मित्रराष्ट्रहरूसँग सबैखाले उपाय”ले प्रयास गरिरहेको बताए।उनले भने, “हामीले सबै नेपाली जनतालाई केही महिनाभित्रै खोप लगाउने छौँ।”

    ४. बालबालिकाको उपचारका लागि तयारी

    मन्त्री तामाङले कोरोनाभाइरसको तेस्रो लहरमा बालबालिकालाई धेरै असर पर्नसक्ने ठानेर मन्त्रालयले काम सुरु गरिसकेको बताए।उनले भने, “अहिलेदेखि नै मन्त्रालय सचेत छ। हामी छलफल गर्न थालेका छौँ। त्यसैले अब हामी बालबालिकालाई हुने आईसीयू बेडहरूको परिकल्पना गरिरहेका छौँ।”उनले सरकारले बालबालिकाको उपचारका लागि आवश्यक पूर्वाधार र जनशक्तिबारे मन्त्रालयले विवरण लिएको जानकारी दिए।त्यसका आधारमा अपुग हुने पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्ने तामाङको भनाइ छ।

    ५. उपचार खर्चको अनुगमन

    कोभिड बिरामीले सरकारी अस्पतालमा उपचार नपाउने र निजीमा चर्को उपचार खर्च तिर्नुपरेको गुनासो आइरहेकोबारे तामाङले अब मन्त्रालयले त्यसको प्रभावकारी अनुगमन गर्ने बताए।आफैँले समेत कोभिड उपचारका लागि ४० लाखसम्म खर्च भएको सुनेको भन्दै सरकारले तोकेकोभन्दा बढी उपचार खर्च लिनेलाई अनुगमन र कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता उनले जनाए।उनले भने, “सरकारले उपचारका लागि निश्चित रेन्ज तोकेको छ, त्यसभित्र रहेर काम गर्नुपर्छ। हामी अनुगमनलाई प्राथमिकताका साथ अघि बढाउँछौँ।”उनले बढी उपचार खर्च लिएकोबारे उजुरी गर्न पनि बिरामीका आफन्तलाई आग्रह गरे।उनले अनुगमन र नियन्त्रणका लागि संयन्त्र बनाउने प्रतिबद्धतासमेत जनाएका छन्।उनले सर्वसाधारणले पाउने स्वास्थ्य बिमा सुविधालाई पनि पुनर्संरचना गर्ने बताएका छन्।

    स्वास्थ्यमन्त्रीका अन्य प्रतिबद्धता

    मन्त्री तामाङले कोभिडसँग सम्बन्धितबाहेक अन्य प्रतिबद्धता पनि जनाएका छन्।उनले कोभिड नियन्त्रणमा सरकारका विभिन्न निकायबीच देखिएको समन्वयको अभावलाई अन्त्य गर्ने बताएका छन्।त्यस्तै मन्त्रालयको गतिविधिलाई पारदर्शी बनाउने, स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्ने, दुर्गम क्षेत्रमा स्वास्थ्य सामग्री पुर्‍याउने र स्वदेशमै नेपालीहरूले सुलभ र गुणस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्ने बनाउन आफूले काम गर्ने तामाङको प्रतिबद्धता छ।

    फेसबुक प्रतिक्रिया