• ओलीको जालमा नपर्ने झलनाथ- नेपालको स्पष्टोक्ती

    २४ जेष्ठ २०७८, सोमबार


    नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्य अल्मल्याउने भएको बताएका छन् । ।

    वक्तव्यमा भनिएको छ – नेकपा (एमाले) २०७५ साल जेठ २ गते पूर्वको स्थितिमा कायम हुने कुरा नगरी “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा” उभिएका व्यक्तिहरुलाई “आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने” कुरा गर्दै यथार्थमा पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ । यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न । यो अस्वीकार्य छ ।

    खनाल नेपाल समुहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका नाममा अघि सारेको प्रस्ताव जालझेल, भ्रम र अल्मल्याउने षडयन्त्र भएको प्रस्ट पारेको छ । सो समुहले प्रधानमन्त्री समेत रहेका ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न पार्टीका नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई आग्रह समेत गरेको छ । वार्ता, मेलमिलाप र सिद्धान्तनिष्ट एकताको पक्षमा रहेको भन्दै ओलीले प्रतिनिधि सभाको असंवैधानिक विघटनको निर्णयलाई सच्याउनुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनको हस्ताक्षर फिर्ता हुुनुपर्ने पूर्वशर्तले ओली एकताको पक्षमा नरहेको स्पस्ट भएको उल्लेख छ । ‘हामीले पार्टी एकता, देशमा राजनीतिक स्थायित्व र जनताको हितलाई सर्वोपरि राख्दै सर्वोच्च अदालतको फैसला तथा नेकपा (एमाले) को नवौं महाधिवेशनको निर्णय र पार्टी विधानअनुरुप पार्टी संगठनलाई पूर्ववत् सञ्चालन गरौं भनी राखेको प्रस्ताव अत्यन्त रचनात्मक छ । तर त्यसप्रति केपी शर्मा ओलीको सकारात्मक दृष्टिकोण र व्यवहार रहेको पाइएन । अहिले उहाँबाट भनिएको “रचनात्मक योगदान” सर्वप्रथम उहाँबाटै आरम्भ हुनु उपयुक्त हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया