• जथाभावि सामाजिक सञ्जाल प्रयोगकर्ताको चंगुलमा राउटे समुदाय, यौन शोषण भएकी युवतीको गोपनियता प्रति बेवास्ता

    २४ जेष्ठ २०७८, सोमबार

    सामाजिक सञ्जालकै जथाभावि प्रयोगकै कारण राउटे युवती यौन दुर्व्यवहारकर्ताको चंगुलमा परेका छन् ।
    जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर यौन दुर्व्यवहार गरेको भिडियो शनिबार बाहिरियो । गुर्भाकोट नगरपालिकाका स्थानीय दुई तीन युवाले उनीहरुलाई होटलमा लिएर मदिरा खुवाई यौन दुव्र्यवहार गरेको भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल भयो । भिडियो सामाजिक संजालमा बाहिरिएको केही समयपछि प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको समन्वयमा उनीहरु छिटै पक्राउ परे ।

    पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका–९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन छन् । उनीहरु माथि जबरजस्ती करणीमा जाहेरी दर्ता भएको छ । यसरी राउटे समुदायलाई आर्थिक प्रलोभन तथा मदिरा सेवन गर्न लगाएर उनीहरु माथि यौनदुर्व्यवहार भएको हो । उक्त भिडियो हे¥यो भने युवाले उनीहरुलाई दुर्व्यवहार गरेको प्रस्ट देख्न सकिन्छ । यो एउटा उदाहरण मात्रै हो । पछिल्लो समय राउटे बस्तीमा अरु समुदायका मानिसको घुलमिल हुन थालेपछि बस्ती नै असुरक्षित छ ।

    बाहिर सुमदायसँग घुलमिल नहुने राउटे समुदाय अहिले खुलेर सबैसँग घुलमिल हुन्छन् । समुदायमा पनि मान्छेहरु धेरै जान थालेका छन् । अहिले राउटे समुदाय गुर्भाकाट नगरपालिका वडा नं ११ आँपसोतीमा बस्दै आएका छन् । उक्त होटल र राउटे समुदाय दुरीका हिसाबले वारिपारि छ । करिब दश मिनेटमको बाटो छ । बिशेष गरेर भिडियो फोटो खिच्नेको राउटे बस्तीमा आउने र राउटे समुदाय पनि गाउँघरमा जाने बढ्दो छ । यसले झन जोखिम बढेको छ अधिकारकर्मी बताउँछन् । यो कारणले केही सेवा गर्ने इच्छाभन्दा पनि गलत दृष्टिले जाने व्यक्तिहरुबाट बढी जोखिममा पर्ने गरेको सरोकारवाला उनीहरु बताउँछन् ।

    फेसबुक टिकटकमा भाइरल बनाउने नाममा र उनीहरुलाई आर्र्थिक र मदिरको प्रलोभनमा पारेर दुर्व्यवहार गरेको स्थानिय अगुवाहरु बताउछन् ।
    यौन दुव्र्यवहारमा परेका दुई जना युवतीहरुको ज्यान असुरक्षि छ । भिडियो भाइरल भए पछि र सबैतिर समाचार आए पछि राउटे समुदाय थाहा पाए उनीहरुको ज्यान खतरामा हुने सम्भावना बढी छ । राउटे समुदाय उक्त कुरालाई स्वीकार नगर्ने भएकाले उनीहरुलाई आफ्नै समुदायबाट कार्वाही हुने सम्भावना बढी छ । अहिलेसम्म राउटे समुदायले घटनाका बारेमा जानकारी पाएका छैनन् । सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले उनीहरु आफ्नै समुदायबाट असुरक्षित हुने भएकाले समुदायमा जानकारी नदिएर केश अघि बढाइएको जानकारी दिईन्।

    दुई युवतिलाई होटेलमा लगेर बनाईएको भिडियो युटुवमा आएपछी बेवास्तापुर्वक धेरैवटा युटुव च्यानलबाट अपलोड गरिएको थियो । बिभिन्न समाचारमुलक सामाग्रीमा समेत ति युवतिहरुको गोपनियताको न्युनतम् समेत खयाल नगरिएको पाईएको छ । उनिहरुका लागि न्याय माग्ने सामाजिक सञ्जाल प्रयोगकर्ता युवाहरु मात्र हैन, समाजसेवी तथा चिनिएका सेलिब्रेटीहरुले समेत उनिहरुका फोटोहरु उपलोड गरेर स्टाटस राखेका थिए ।

    फेसबुक प्रतिक्रिया