• पत्रकार रिपेश दाहालको कोरोना अनुभव

    २४ बैशाख २०७८, शुक्रबार

    म पत्रकार रिपेश दाहाल, आजको दिन हेटौडा एफ.एम. १७ वर्षमा प्रवेश गरेको दिन अर्थात पत्रकारिता गरेको १७ बर्ष भन्दा बढि भएछ । कोरोना संक्रमणले घरमै एकान्तबास बसिरहेको अवस्थामा केही सुनाउने जमर्को गरेको छु । आशा छ यो लेख(अनुभव) ले तपाईमा सकारात्मकता मात्र हैन सजगता समेत थप्ने छ । मैले सामान्य अवस्थामा (अहिले सम्म) पनि के कस्तो स्थितिको सामना गर्नु पर्यो भनेर मात्र भन्दिन, जहाँ म चुकें त्यो अवस्था तपाईको नआओस् कामना गर्छु ।

    हेटौंडा एफएम खुल्दाताका २०६२-६३ को जन-आन्दोलन हुँदै थियो । त्यसबेला हामी लोकतन्त्रका पक्षमा खुलेर बोल्थ्यौं, त्यतिखेर गोलीको समेत पर्वाह गरिएन । भर्खरै प्रसारण शुरु गरेको एफ.एम.ले समाचार भन्ने अनुमति पाएको थिएन । तर हामी निडर भएर निरङ्कुशता विरुद्ध आफ्नो तह र तप्काबाट लडिरहेका थियौं । बन्दुकसँग नडराउने हामी केसँग डराउँथ्यौं हुला र ! तर निरङ्कुशता र मुर्तरुपमा गरिने लडाँई र अदृश्यरुपमा भाईरसको आक्रमण फरक हुँदो रहेछ । आज म आफूसहित श्रीमती र सानी छोरीसमेत कोरोना संक्रमणको सिकार हँुदा त्यस्तै केही महसुस गरेको छु ।

    कसरी भयो त कोरोना संक्रमण?

    मूलतः पेशाले म पत्रकार । जोखिमताका बीचमा काम गर्नु पत्रकारिताको दोश्रो विशेषतानै हो । फैलँदो संक्रमणका बीचमा राससका लागि समाचार सङ्कलन गर्दा, पत्रकार साथिभाइसँगको जमघट या कुनै सभाहल भित्र सम्पन्न हुने कार्यक्रममा सहभागी हुँदाका बखत नै किन नहोस, संक्रमणको संभावना प्रवल थियो । यद्धपी हरेक कार्यक्रममा जाँदा मास्क अनिवार्य प्रयोग गरिएको थियो तर पनि बाहिर जिल्लाबाट आएका साथिहरुलाई भेट्दा या बन्द हल भित्रको कार्यक्रमा सहभागी हुँदा वा होटलमा खाना खाँदा कतैबाट सरेको हुन सक्छ, म यकिनका साथ भन्न सक्दिन । तर अलि नजिकका मान्छे, सहकर्मी तथा आफन्तबाट संक्रमण फैलँदैन भन्ने हाम्रो अघोषित बुझाइ छ, मलाई भएको संक्रमणको कारण त्यही हुनसक्छ ।

    के के लक्षण देखिए त?

    सुरुवातमै मेरी छोरीलाई सामान्य खोकी रुघा जस्ता सामान्य लक्षण देखिइसकेका थिए । मसँगै पूर्वी मकवानपुर गएका एकजना पत्रकारलाई कोरोना पोजेटिभ देखिए पछि र हरदम आफूसँगै उठवस गरेका प्रकाश दाजुलाई (पत्रकार प्रकाश दाहाल) समेत संक्रमण पुष्टि भएपछिकोे अवस्थामा हामीले (श्रीमान-श्रीमती) आफूलाई पनि शुरुभएको लक्षणको आधारमा पिसिआर चेक गरायौं र दुबैजना कोरोना संक्रमित भएको थाहा पायौं । पहिले जस्तो सामाजिक लाञ्छनाको अवस्था नभएपनि कता-कता डर जस्तो चाहिँ हुने रहेछ । आफू भन्दा पनि श्रीमती र छोरीलाई संक्रमण हुँदा भने मेरै असावधानीले उनीहरुलाई समेत सर्यो जस्तो भने लागेको छ । मलाई रातभरी खोकी लाग्ने बान्ता हुन खोज्ने र पारा सिटामोल खाँदा समेत नछुने गरि टाउको दुख्ने लगायतका लक्षण देखिएकाथिए । मेरी श्रीमती सुनितालाई १०२ डिग्री सम्मको ज्वरो आउने, ढाढ घोच्ने जिउ आलसतालस हुने भैरह्यो । चिकित्सकले सुझाएका औषधिले केही क्षण मात्रै काम गर्ने अवस्था थियो । छोरीलाई सामान्य खोकी मात्रै देखियो । ६३ वर्षीया आमालाई भने संक्रमण हुन पाएन । कारण कोरोना संक्रमणको दास्रोलहरले हामी सचेतनै थियौं । एउटै घरमा बस्ने भएपनि दूरी कायम गरेका कारण आमा अहिलेसम्म संक्रमण मुक्त नै हुनुहुन्छ । हाल, हामीलाई लक्षण देखिनासाथ आमा भाइको घरमा सर्नुभएको छ र उहाँमा कुनै लक्षण देखिएको छैन ।

    कोरोना संंक्रमण हुनबाट कसरी बच्न सकिन्थ्यो होला त (वा कसरि बच्ने)?

    विज्ञहरुले भनेका उपायहरुको पूर्ण पालना गर्न सक्या भए । जस्तैः सुरक्षितरुपमा नियमित मास्कको प्रयोग गर्ने घर पुग्ना साथ मास्को सुरक्षित डिस्पोज या निर्मलीकरण गरेर , कपडा घरबाहिरै खोलेर, नियमित स्नान पश्चात मात्र घर भित्र प्रवेश गरेर, बाहिर पसल, साथीभाइसँगको होटल, रेष्टोरेन्टमा खाजा नास्ता नखाएर हरेक पटक बाह्य बस्तु छोइसकेपछि अफ्ठ्यारो नमानिकन हात धोएर, सामाजिक वा शारीरिक दूरी अनिवार्य कायम गरेर (प्राय साथीभाइ या सहकर्मीसँग बिना सङ्कोचको सामिप्यताले कोरोना बढाइरहेको छ ) र बन्द कोठामा हुने कार्यक्रममा सहभागी हुँदै नभएर।

    अब अहिले लकडाउनको समयमा चै कसरी सुरक्षित रहने?

    काम नपरी बाहिर नडुल्ने, अत्यावश्यक काममा पनि दूरी कायम गर्ने, मास्क लाउने तर बाहिर लगाएर आइसकेको मास्क उचित तरिकाले डिस्पोज गर्ने या निर्मलीकरण गर्ने । साथीभाइ, छिमेकी, सहकर्मी, घनिष्ठ व्यक्तिहरु वा आफन्तहरुबाट भाइरस सर्दैन भन्ने भ्रमबाट मुक्त हुने, परिवारमै बस्ने परिवारमै रमाउने ।

    कोरोना संक्रमण भै हालेमा के गर्ने ?

    सर्वप्रथम नआत्तिने, परिवारलाई जानकारी गराउने र घरमै सुरक्षित एकान्तबास गर्ने, संक्रमण पुष्टिहुनुअघि भेटघाट भएका आफन्त तथा साथीभाइलाई जानकारी गराउने, चिकित्सक वा स्वास्थ्यकर्मीसँग समन्वयमा औषधिहरु सेवन गर्ने जस्तै मैले हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्ले , मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा स्वास्थ्य पत्रकार सुपेन्द्र कार्की तथा हेटौंडा अस्पताल सञ्चालक समितिका सदस्य स्वास्थ्यकर्मी तथा पत्रकार उत्सव चौलागाईसँगको परामर्शमा आवश्यक औषधिहरु सेवन गरिरहेको छु । त्यस्तै दास्रो पटक संक्रमित हुनुभइ अनुभव हासिल गर्नुभएका पत्रकार प्रकाश दाजुसँग हरेकदिन सम्पर्कगरि औषधोपचार र उपकरणहरुमा सहकार्य गरिरहेको छ । स्वास्थ्य वद्र्धक खानेकुरामा जोड दिने , जाँड, रक्सी, चुरोट बिँडी नखाने, तनाव नलिने, सकारात्मक सोच राख्ने, सामाजिक सञ्जालको तस्विर र स्टाटसले तपाईलाई विचलित बनाउन सक्छ, सकेसम्म यस्ता सामाग्री नहेर्ने, बरु अरुलाई आत्मबल बढ्नेखालका सकारात्मक सामाग्री तपाईले पोष्ट गर्न सक्नुहुन्छ । गुर्जो, दालचिनी, अम्वाको पात या तेजपत्ता वा बेसारपानी जे उपलब्ध छ मनतातो प्रशस्त पिउने । स्वस्थ जिवनशैली अपनाउने । लक्षण बढ्दै गाह्रो हुँदै गएको अवस्थामा अक्सिजन लेवल हेर्ने उपकरणले चेक गर्ने । पटकपटक पानीको बाफ लिने । दिनमा कम्तिमा दुईपटक मञ्जन प्रयोग गरेर दाँत माझने । अप्रमाणित घरेलु तौरतरिकाहरु प्रयोग नगर्ने । वा स्वास्थ्यकर्मीको सल्लाहबिना कुनैपनि दबाई नखाने । अवस्था अनुसार अस्पताल, अक्सिजन, एम्बुलेन्सको लागि सर्तक रहने, आवस्यकता नभई अस्पताल जाँदै नजाने, यसले आपतमा परेकालाई उपचार पाउन कठिन हुने मात्र हैन अस्पतालमा आएका गम्भीर बिरामीहरु तथा मृत्यु भएकाहरुलाई देखेर म पनि त्यस्तै हुनसक्छुकी भन्ने त्रास उत्पन्न भएर झन गाल्न सक्छ ।

    त्यसैले सकेसम्म घरमै बसौं । र याद गरौं कोरोना सबैलाई लाग्दैन ! लागेका सबै बिरामी हुदैनन् ! बिरामी भएका सबै गम्भीर हुदैनन् ! गम्भीर भएका सबै मर्दैनन । त्यसैले कोरोना लाग्दैमा नआत्तिऔं ! सकेसम्म कोरोना लाग्ननै नदिऔं । सामाजिक दूरी कायम गरौं।

    (दहाल मकवानपुरका सञ्चारकर्मी हुन् उनि राससका मकवानपुर संवाददाता समेत हुन् ।)

    फेसबुक प्रतिक्रिया