• अलमलमै ईजरायलमा कामदार पठाउने कुरो

    २७ चैत्र २०७७, शुक्रबार


    श्रमका लागि राम्रो गन्तव्य मानिएको ईजरायलसंग श्रम सम्झौता भएको सात महिना बितिसक्दा पनि श्रमिक पठाउने विषय टुुङ्गो लाग्न सकेको छैन ।
    पुुसदेखि नेपाली श्रमिक इजरायल पठाउन सुरु गरिने श्रम संझौतामा भनिए पनि श्रमिक पठाउनका लागि बनाइएको कार्यविधि गत मङ्सिरदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोकिएको छ ।
    मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतमणि पाण्डेले कार्यविधिका आवश्यक विषयमा सरोकारवाला र सम्बन्धित मन्त्रालयसँग राय माग्ने काम गरिरहेकोे र यो पास गरेर वैदेशिक रोजगार विभागमा गएपछि श्रमिक पठाउन बाटो खुल्ने बताए। नेपालबाट इजरायल सरकारले हेरचाहका लागि नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता सम्पन्न भएको थियो ।गत असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायली नागरिकसरहको सेवासुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो । सोही सम्झौताका आधारमा सन् २०२१ को जनवरीदेखि नेपालबाट श्रमिक छनोट गरेर लैजाने प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ ।पहिलो चरणमा पाँच सय जनालाई केयरगिभर, नर्सिङ र स्वास्थ्य क्षेत्रको रोजगारीमा इजरायल पठाउने गरी सरकारीस्तरमा गत असोजमा श्रम सम्झौता भएको थियो । तीन महिनाको ‘केयरगिभर’ तालिम लिएका वा नर्सिङ पढेकालाई इजरायल पठाइने श्रम सम्झौतामा उल्लेख छ । सोहीअनुसार पहिलो र दोस्रो चरणमा श्रमिक छनोट गरिएको थियो । विशेष गरी इजरायलले वृद्धवृद्धालाई स्याहार गर्न घरेलु श्रमिकका रूपमा केयरगिभर लिने गरेको छ ।
    सन् २०१५ मा सरकारीस्तरमा नै श्रमिक आपूर्ति गर्ने विषयमा नेपाल सरकारसँग इजरायलले ‘नमुना परियोजना’का रूपमा श्रम सम्झौता गरेको थियो तर श्रम सम्झौता भएको तीन वर्षमा नै नेपालीका लागि इजरायलको श्रम बजार बन्द भएको थियो । इजरायल जाने श्रमिकले स्वास्थ्य परीक्षण, बीमा, हवाई खर्चसहित लगभग ९५० अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ । उनीहरूले पाँच वर्षसम्म इजरायलमा रोजगारी पाउँछन् ।इजरायलले ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष श्रमिक हुनुपर्ने सर्त राखेको छ । इजरायल नेपाली महिलाका लागि आकर्षक गन्तव्य मानिन्छ ।

    विभागले इजरायल जान चाहने श्रमिकले अनलाइनबाटै आवेदन दिनसक्ने व्यवस्था मिलाउन लागेको छ ।
    नयाँ श्रम सम्झौताअनुसार एसएलसी वा एसईई उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी तालिम वा १२ कक्षा उत्तीर्ण भई तीन महिने केयरगिभरसम्बन्धी तालिम लिएका, अङ्ग्रेजी बोल्नसक्नेले इजरायल रोजगारीमा जानका लागि आवेदन दिनसक्ने छन् । छनोट भएकाले टिकट, स्वास्थ्य परीक्षणलगायत गरी प्रतिव्यक्ति एक लाख रुपियाँ लागत लाग्ने बताइएको छ । केयरगिभरमा जानेको तलब मासिक न्यूनतम दुई लाख रुपियाँ हुनेछ ।

    फेसबुक प्रतिक्रिया