• नेपाल पत्रकार महासंघको नया नेतृत्वका लागी मतदान जारी

    २५ चैत्र २०७७, बुधबार

    बिहानैबाट नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।
    केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ ।देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।

    अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

    शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरुबीच कडा टक्कर हुने अनुमान छ ।अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।यस वर्ष प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ-आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् ।प्रदेशमा सदस्यता भएकाले सम्बन्धित प्रदेशका लागि तथा उपत्यका, एशोसिएट र प्रतिष्ठान सदस्यहरुले आ-आफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । उनीहरुले आ-आफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारहरुलाई पनि भोट हाल्न पाउँछन् ।

    काठमाडौं उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । काठमाडौंको हकमा प्रज्ञा भवन कमलादीको केन्द्रबाट मतदान भैरहेको छ ।

    एशोसिएट सदस्यहरुको मतदानस्थल दशरथ रंगशालामा र प्रतिष्ठान सदस्यहरुका लागि १९ वटा केन्द्रमा मतदान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया