• थ्री नेशन्स कप फुटबल: नेपाल आफ्नो पहिलो खेलमा आज किर्गिस्तानको सामना गर्दै

    १२ चैत्र २०७७, बिहीबार

    ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज किर्गिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजे दुई टोलीबीचको खेल सुरु हुनेछ ।
    नेपाल, बङ्गलादेश र किर्गिस्तान सम्मिलित ‘थ्री नेशन्स कप’ मा आज हुन लागेको खेल दोस्रो खेल हो । यसअघि उद्घाटन खेलमा किर्गिस्तानले बङ्गलादेशसँग १–० ले हार बेहोरेको थियो । प्रतियोगितामा नेपालले किर्गिस्तानलाई हराए बङ्गलादेश विरुद्धको दोस्रो खेल खेल्नु अघि नै फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
    किर्गिस्तानले भने प्रतियोगितामा जिवित रहन आजको खेलमा नेपाललाई हराउनैपर्ने बाध्यता छ । नेपालले किर्गिस्तानलाई बराबरीमा रोकेर बङ्गलादेश बिरुद्धको खेल जित्ने अवस्थामा पनि किर्गिस्तान बाहिरिनेछ ।
    नेपालले घरेलु दशर्कको उपस्थितिमा आफ्नो पहिलो खेलमा जित हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।
    गोलकिपर समेत रहेका किरणकुमार लिम्बू नेतृत्वको टोलीमा बिकेश कुथु र दीप कार्की आरक्षित गोलकिपरका रुपमा छन्। डिफेन्समा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन र छिरिङ गुरुङ छन भने मीडफिल्डमा त्रिदेब गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सञ्जोग राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवानमध्ये टोली ब्यवस्थापनले अन्तिम एघारमा स्थान पाउने खेलाडीको सूची खेल सुरु हुनुअघि सार्बजनिक गर्नेछ । फरवार्डमा अञ्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास छन् ।

    फेसबुक प्रतिक्रिया