• कोरोनाको बेवास्ता गर्दै ‘थ्री नेशन्स कप फुटवल’

    १० चैत्र २०७७, मंगलवार

    कोरोनाको दोश्रो लहरका बिचमा अखिल नेपाल फुटबल संघको आयोजनामा मङ्गलबारदेखि ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
    कोभिडको दोस्रो लहर आउन सक्ने सम्भावनाका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने प्रकारले सभा, सम्मेलन, गोष्ठी आयोजना नगर्न सूचना जारी गरेको छ । तर अखिल नेपाल फुटबल संघ(एन्फा)ले दर्शकको उपस्थितिमै ‘थ्री नेशन्स कप’को सबै खेल हुने जनाएको छ ।
    सामाजिक दूरीको पालना गरी दर्शकको उपस्थिति कायम राख्ने एन्फाका प्रवक्ता किरण राईलको बताएता पनि ब्यवहारमा त्यस प्रकारको तयारी गरिएको देखिन्न ।
    बिहीबार हुने नेपाल र किर्गिस्तानबीचको खेलमा कम्तीमा पाँचदेखि सात हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले बताएका छन् । सीमित परिधिभित्र सात हजार दर्शक राखेर खेलाइने अवस्थामा मापदण्ड पूरा हुन नसक्ने जनस्वास्थ्यविद्हरु तर्क गर्छन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्डको उल्लंघन हुने गरी कुनै प्रकारको क्रियाकलाप नगर्न आइतबार नै निर्देशन जारी गरेको छ । तर एन्फाले भने खेलको लागि टिकट बिक्री कार्यलाई निरन्तरता दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले “हामीले मापदण्ड तोकेर सचेत गराउने हो, मापदण्ड पालना गराउने निकायकोयस सम्बन्धमा ध्यानाकर्षण हुनुपर्ने” बताउछन् । गत साताको अन्त्यमा दैनिक थपिने सङ्क्रमित ५० जनाभन्दा कममा झरेको थियो । तर साताको सुरुवातदेखि चौबीस घण्टामा थपिने सङ्क्रमित बढ्दैछ । सोमबार चौबीस घण्टामा १५० जना सङ्क्रमित थपिएका छन् ।
    छिमेकी राष्ट्र भारतमा कोभिड १९ को दोस्रो लहर आएको देखिन्छ । दोस्रो लहरको संकेत आउनासाथ सङ्क्रमण प्रभावित क्षेत्रमा खेलकुदमा दर्शकको उपस्थितिमा बन्देज लगाइएको छ । गत आइतबार नै सम्पन्न इंग्ल्याण्ड र भारतबीचको टी ट्वान्टी श्रृखंलामा समेत दर्शक उपस्थिति शून्यमा झारिएको थियो ।
    यद्दपी एन्फाले रङ्शाला प्रबेश गर्ने दर्शकका लागि मापदण्ड तयार गरेको छ ।सबै दर्शकको तापक्रम मापन गरिने, अनिवार्य ‘सैनिटाइजर’ लगाउनुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने एन्फाले मापदण्ड जारी गरेको छ ।
    तर यस प्रकारको अनुभवले समेत अन्य राष्ट्रहरुमा काम गरेको देखिन्न । भारतमा मार्च दोस्रो साताको सुरुवातमा चौबीस घण्टामा थपिने सङ्क्रमित संख्या १२ हजारसम्म भएकोमा स्वास्थ्य मापदण्डमा हेलचक्रयाइँ गरेपछि परिस्थिति फेरिएको छ । दुई साताको अन्तरालमा दैनिक थपिने सङ्क्रमित बढ्दै गएको छ । सोमबार चौबीस घण्टामा करिब ४७ हजार सङ्क्रमित थपिएका छन् ।

    फेसबुक प्रतिक्रिया