• ‘ओली को हुन् र मलाई उनले प्रधानमन्त्री बनाउने?

    ६ फाल्गुन २०७७, बिहीबार

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट नेतृत्वलाई खुल्याउने काम भइरहेकोमा असन्तुष्टि जनाएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई आफूले केन्द्रीय समितिमै छलफल गराएर असंवैधानिक र अलोकतान्त्रिक भने पनि उक्त विषयलाई लिएर नेतृत्वलाई खुल्याउने काम भइरहेको देउवाको गुनासो छ।प्रतिनिधि सभा विघटनविरूद्ध पार्टीले गरेका विरोध सभाहरूमै नेतापिच्छे फरकफरक अभिव्यक्ति दिँदै नेतृत्वलाई खुल्याउने काम गरिएको भन्दै देउवाले असन्तुष्टि पोखेका हुन्।उनले बुधबार अपरान्ह बसेको केन्द्रीय समिति बैठकमा यसबारे मुख खोलेका छन्।
    वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा शशक्त ढंगले उभिनुपर्ने र आन्दोलनको नेतृत्व कांग्रेसले गर्नुपर्ने जनताको चाहना रहेको प्रसंग सुनाएका थिए।प्रधानमन्त्री ओलीले सभापति देउवालाई प्रधानमन्त्री बनाइदिन्छन् भन्ने भ्रम राख्न हुन्न भन्ने कुरा पौडेलले राखेपछि देउवाले जवाफ दिँदै भने, ‘ओली को हुन् र मलाई उनले प्रधानमन्त्री बनाउने?’

    जनताबाट जितेर आएपछि प्रधानमन्त्री बन्न सकिने उल्लेख गरेका देउवाले आफूलाई पदको लोभ नभएको पनि बताएका थिए।आफूलाई प्रतिनिधि सभा पुनर्स्थापना विरोधीका रूपमा नेताहरूले प्रस्तुत गर्न खोजेको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए। एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार देउवाले आफू पुनर्स्थापनाकै पक्षमा रहेको बताएका छन्।
    ‘अदालतमा विचाराधीन विषयमा ढोकैमा गएर आन्दोलन नगरौं मात्र भनेको हुँ। जुलुसले अदालतलाई प्रभावित पार्न हुन्न। यो गर वा त्यो गर भन्न हुन्न। कांग्रेस स्वतन्त्र न्यायालयको पक्षमा छ भन्दा कसरी पुनर्स्थापनाविरोधी भएँरु,’ देउवाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने।पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई पार्टीले विरोध गरिसकेकाले परिषदमा नियुक्ति भएकालाई फिर्ता बोलाउन वा नियुक्ति खारेजीको माग गरिनुपर्ने बताएका थिए। तर देउवाले पार्टीका तर्फबाट मानिसहरू संवैधानिक परिषदमा सिफारिस नगरेको दाबी गरेका थिए।

    कांग्रेस केन्द्रीय समिति बैठक आज अपरान्ह ३ बजे फेरि बस्दैछ। कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने र देउवा नेतृत्वको कार्यसमितिको म्याद संविधानमा रहेको व्यवस्थाअनुसार छ महिना थप गर्ने प्रस्ताव केन्द्रीय समितिमा बुधबार पेश गरेको छ।

    फेसबुक प्रतिक्रिया