• नेपाली काँग्रेसको १४औँ महाधिवेशन फेरि सर्ने

    ५ फाल्गुन २०७७, बुधबार

    नेपाली काँग्रेसको यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४औँ महाधिवेशन फेरि सर्ने भएको छ तर अब काँग्रेसको महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुनेछ ।
    बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको प्रस्ताव छलफलका लागि पेस गरिँदैछ । सभापति शेरबहादुर देउवा नेतृत्वले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर पार्टीको विधानअनुसार एक वर्ष थप गरेको अवधि पनि यही फागुन १९ गते समाप्त हुँदैछ । नेपालको संविधानअनुसार काँग्रेसले अबको छ महिनाभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने हुन्छ ।
    केन्द्रीय कार्यसमितिमा पेस गरिने प्रस्ताव र महाधिवेशनको अर्को मिति तय गर्नेलगायतका विषयमा सभापति देउवासहितका शीर्ष नेताहरूबीच छलफल पनि भएको छ ।
    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सचिवालयले तयार पारेको महाधिवेशनको नयाँ कार्यतालिकालाई बुधबारको कार्यसमितिमा पेस गरिने जानकारी दिए। यसैबीच काँग्रेसले बैतडी जिल्लाको डिलासैनीमा काँग्रेसको कार्यक्रम भइरहेकोे समयमा मङ्गलबार गरिएको आक्रमणको निन्दा गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला सङ्ग्रौला, बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया