• काठमाडौं नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा

    २५ पुष २०७७, शनिबार

    काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी गराएका छन् ।
    विद्यालयको सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरषद्मा सिफारिस पठाएको र यसै निर्णयको कुरेर बसेको महानगरका शिक्षा विभाग प्रमुख ढकालले बताए । मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरपालिकाका विद्यालय खोल्ने निर्णय गरे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी, सामुदायिक विद्यालय खोल्न अनुमती दिने महानगरको तयारी रहेको उनले जानकारी दिए।

    शिक्षा मन्त्रालयले बनाएको विद्यालय कार्य ढाँचा अनुसार स्वास्थ्य मापदण्ड अनुसार स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्ने र साथै नगरले पनि आफनो कार्य ढाँचा बनाएर अगाडि बढ्ने उनले बताए । विद्यालय सुचारु गर्दा अनुगमनलाई प्रभावकारी बनाउने महानगरको तयारी छ । कोरोनाको जोखिमालाई मध्यनजर गरेर विद्यालय सुचारु हुँदा केन्द्र स्तर र वडा कार्यालयबाट अनुगमन गर्ने गरि गृहकार्य भइरहेको समेत शिक्षा विभाग प्रमुख ढकाल बताउछन् ।

    देशका धेरै ठाउमा खुल्न थाले शैक्षिक संस्था

    पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाहरु पनि खुला गरि पठनपाठन धेरै ठाउमा सुरु भइसेको छ । यसैबीच धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा समेत स्कुल, कलेज सुचारु हुन थालेका छन् । ललितपुर महानगरपालिकाले ललितपुर महानगरभित्रका शैक्षिक संस्थाहरु सुचारु गर्ने निर्णय गरिसकेकोे छ । विद्यार्थीहरु घरमा अनलाइन माध्यमबाट पढ्दा असहज भएको भन्दै आम अभिभावकको गुनासो आएपछि हालको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउछन् ।

    स्कुल, कलेज सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड मान्नु अनिवार्य गरेर वडा कार्यालयले अनुमति दिने गरी खुला गरेको उनले बताए । हालको अवस्थामा सवै शैक्षिक संस्था खोल्न दिने र कोरोनाको संक्रमणको जोखिम बढ्यो भने अर्को निर्णय लिने समेत प्रवक्ता महर्जनको भनाइ छ ।
    साथै सामुदायिक विद्यालयमा कोरोनाबाट जोगिनका लागि चाहिने स्वास्थ्य सुरक्षाका सामाग्री महानगरपालिकाले निःशुल्क उपल्वध गराउने निर्णय गरेको समेत प्रवक्ता महर्जनले बताए ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी देशका धेरै ठाउँमा स्कुल, कलेज सुचारु हुन थालेको बताउछन् । कोरोना जोखिमलाई विचार गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन हुने क्रम दिन प्रतिदिन बढिरहेको उनले बताए ।

    कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या कम गराएर दुई सिफ्ट र जोर बिजोर प्रणालीबाट सुरु भइरहेको समेत अध्यक्ष पुरीले जानकारी दिए । दीर्घरोगी बिरामी भएका विद्यार्थीलाई छुट्टै कक्षा र अनलाइन कक्षाबाट सुविधा दिएर पढाइ भइरहेको उनले बताए। चैत्र महिनाभित्र सेसन सिध्याएर सेसन खेर जान दिन हुन्न भनेर तयारीका साथ धेरै ठाउँमा पढाइ भइरहेको उहाँले जानकारी दिए ।सरकार पनि यसै योजनाका साथ अगाडि बढेको उनको भनाइ छ ।

    कक्षा सुचारु भएका ठाउँका विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर पढ्न पाउँदा उत्साहित भएको अध्यक्ष पुरी बताउछन् । कोरोनाको महामारीमा पनि हालसम्म सामुदायिक विद्यालयका विद्यार्थीले ४० देखि ६० र निजी क्षेत्रमा ७५ प्रतिशत विद्याथीले अनलाइन कक्षा लिएको उनले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया