• कोरोना संक्रमण बिरुद्ध सचेतता अपनाउदै संसद्को हिउँदे अधिवेशनको तयारी

    १८ मंसिर २०७७, बिहीबार

    आगामी महिना संसद्‌को हिउँदे अधिवेशन गर्नुपर्ने भएकाले कोरोनाभाइरस फैलिन नदिई बैठक गर्न आवश्यक तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।

    संसद्को एउटा अधिवेशन समाप्त भएको छ महिना नपुग्दै अर्को अधिवेशन प्रारम्भ हुनुपर्ने संवैधानिक प्रावधान छ। त्यसैले यसपालि हिउँदे अधिवेशन पुस १७ भित्र सुरु भइसक्ने अधिकारीहरूले बताएका छन्।अधिवेशन सुरु हुनुअघि सबै सांसदको कोरोनाभाइरस परीक्षण गरिदिन स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ।

    त्यसबाहेक संसद् भवनमा सांसद् र कर्मचारीको ज्वरो मापन गर्न विशेष उपकरण प्रयोग गरिन लागेको छ। उक्त उपकरण नेपालमै बनाइएको हो।संसद् सचिवालयका अनुसार संसद्‌मा कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन जनस्वास्थ्यसम्बन्धी उपाय अवलम्बन गरिनेछ।

    ‘प्रमुख प्रस्थानबिन्दुमै स्वचालित सेन्सरबाट सांसद तथा कर्मचारीहरूको हात सरसफाइ गरिन्छ र त्यसपछि दोस्रो प्रस्थानबिन्दुमा थर्मल स्क्यानरबाट उहाँहरूको तापक्रम नापिन्छ’,संसद् सचिवालयका डा. पुष्प रिजालले भने।संसदको सभाहलतर्फ प्रस्थान गर्ने द्वारमा जडान गरिएको उपकरणको दुईदेखि छ मिटरको दूरीमा कोही पुग्नेबित्तिकै त्यसले मानिसको शरीरको तापक्रम आफैँ नापेर सँगै राखिएको एउटा कम्प्युटरमा देखाइदिन्छ।

    संसद् सचिवालयले ज्वरो आएका सांसदलाई संसद् परिसरमै अरूबाट छुट्याएर राखिने जनाएको छ।डा। पुष्प रिजालका अनुसार १०२.२ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम देखिने सांसदलाई केही समय आइसोलेशनमा राखेर थप उपचार आवश्यक परे अस्पताल लगिनेछ।संसद् बैठक हुँदा सधैँ एउटा एम्बुलेन्स तयारी अवस्थामा संसद् भवन परिसरमा राख्ने गरिएको छ।भौतिक दूरी र जनस्वास्वास्थ्यसम्बन्धी सबै उपाय अवलम्बन गरी संसद् भवनलाई सुरक्षित रूपमा बस्न मिल्नेगरी व्यवस्थापन गर्न लागिएको डा। रिजालको भनाइ छ।

    भवनमा प्रत्येक दिन निस्सङ्क्रमण गर्न आवश्यक उपकरणहरू पनि किनिएको जानकारी संसद् सचिवालयले दिएको छ।

    फेसबुक प्रतिक्रिया