• राजधानीको मुटु तिनकुनेमा पुर्बी तराईको भक्का ‘भकाभक’!

    १७ मंसिर २०७७, बुधबार


    पुर्वी-तराईको बिशिष्ट पहिचान बनेको भक्काको स्वादले अहिले राजधानीबासीलाई लोभ्याईरहेको छ ।

    अहिले झापा, मोरंग लगायतका क्षेत्रमा बिहान झिसमिसेमा पाईने भक्का राजधानीकै तिनकुनेमा बेच्दै उक्त परिकारलाई राजधानीमा स्थापित गर्ने अभियानमा छन झापाका ३२ बर्षीय युवा बिधुर पोखरेल । उनको तिनकुने कान्तिपुर अस्पाताल नजिकैको सानो क्याफेमा उनले भक्कालाई तिब्बेतियन रेसिपी लाफिंग र ईन्डियन टेस्टमा मट्का चियालाई पनि मिसाएका छन् ।
    २१ बर्षको उमेरमा लहलहैमा लागेर अष्टेलिया पुगेका बिधुर १० बर्ष बसेर नेपाल फर्केपछी उनको मनमा राम्रो रेष्टोरेण्ट खोलेर ब्यवसायी बन्ने रहर त थियो तर अभिभावकको मन्जुरी भएन ठुलो लगानी गर्नलाई ।

    ”बुबाले पैसा दिनु भएन, आफैले राम्रो कमाई गरेर आउन सकिएन, आफ्नै एरियाको भक्कालाई काठमाण्डौ भित्राउने रहर भयो र सुरु गरें मिल्कमण्डप लस्सी एण्ड स्मुथी बार ।”

    करिब दुई बर्ष अघी ब्यवसाय सुरु गरेका पोखरेलको व्यवसायमा सुरुवाती दिनमा नसोचेको सफलता मिल्यो । उनी भन्छन्, ‘भक्का नचिनेकाहरुले पनि के हो यो भन्दै खानलाई आँउदा बहुत हौसला मिल्यो, बरु अहिले यहि कोरोनाले चाँही थला पार्यो, तर अब बिस्तारै ब्याक टु द नर्मल हुँदै छ ।”


    हामी क्याफेमा पुग्दा पोखरेल भक्का सर्भ गर्दै थिए, कोहि ग्राहक भक्का ‘भकाभक’ बजाउदै थिए भने कोही लाफिंग र मट्का चियाको मज्जा लिँदै थिए । उनको क्याफेमा बिशेषतः पुर्वतिरकै भक्काको स्वाद पसेका भक्का पारखीहरु आउछन् भने दोश्रो प्रकारका ग्राहक भने भक्काको नाम सुनेर चाखौंन त भनेर आउनेहरु पनि हुन्छन् । यस क्याफेमा भक्कालाई उनले फ्युजन समेत गर्न भ्याएका छन्, ”प्लेन भक्का ओसिलो चामलको पिठोलाई कसौंडीमाथी बाफ आउने ठाँउमा साँचोको सहायताले खनाईन्छ र सुतिको कपडाले छोपेर बाफमा पकाईन्छ र परम्परागतरुपमा राजबंशीहरुले नुन खोर्सानीसंग यसलाई बिहानै खान्छन् भने यहा मैले टमाटरको अचारसंग दिने गरेको छु । साथै मैले चकलेट राखेर र सख्खर राखेर भक्कालाई फ्युजन समेत गरेको छु ।”

    प्राय ग्राहकको सकारात्मक प्रतिकृया पाएको उनि बताउछन् । अहिले नेपालमा काम गर्नेको सम्मान हुन सुरु भैसकेको र राम्रो प्रतिकृया पाएको उनको अनुभव छ भने बिदेशमा गएर सिक्ने भनेको नै श्रमको मुल्य भएको उनि बताउछन् । बिधुर भन्छन्, ”गर्न त ठुलो रेष्टोरेन्ट खोलेर यसको आउलेट बिस्तार गर्न मन छ तर पुँजीको अभाव संगै र पहिले पहिलो क्याफेलाइ स्थापित गर्ने सपना उनका सामु छन् । कोरोनाले ब्यवसाय चौपट बनायो अब बिस्तार मान्छेहरु आउन थालेका छन्” , चिया मसलाहाल्दै उनि भन्दै गए । बडो बोलक्कड सैलीमा खुलेरै बोलेका पोखरेल ग्राहकको प्रतिकृया पनि लिईरहने गर्दा रहेछन्, एक पटक एक जना पत्रकार महिला उनको अन्तवार्ता लिन भनेर आईछन र उक्त अन्तर्वार्ता नछापिएको उनको दुखेसो रहेछ । उनको नियमित ग्राहक बनेकी ति महिला त्यसपछी भक्का समेत खान नआएको उनले सुनाए ।


    दाजु हिजोको भन्दा लाफिंग आजको राम्रो रहेछ नी!, पुर्ब झापाकै भक्काको स्वादको पारखी एक महिला ग्राहकको प्रतिकृयाले उनि फुरुक्क परे अनि मुस्कुराउदै जवाफ दिए, ‘थ्यान्क यु !’
    कति रुपैया भयो भन्ने मेरो प्रश्नको उत्तरमा उनले भने , ‘एउटा प्लेन भक्का, दुईवटा मट्का चिया, र एउटा लाफिंगको जम्मा १ सय सत्तरी रुपैया दाई , अँ साच्ची यो पटक त मेरो अन्तर्वार्ता आँउछ नि ?’

    फेसबुक प्रतिक्रिया