• साहित्यकार सुवास खनाल र उनकाे कृति सपनाकाे अवयवका विषयमा अन्तरङ्ग कुराकानी

    ६ मंसिर २०७७, शनिबार

    बकैया–५ ,पावस मकवानपुरमा जन्मिएका सुवास खनाल (२०४३) कविता लेखनमा २०५७ सालदेखि क्रियाशील छन् । करिब डेढ दशकयता हेटौँडामै बसेर साहित्यमा साधनारत छन् उनी । यसअघि उनको विचारको उल्टो नदी (२०७१) कविता सङ्ग्रह प्रकाशित छ । भौतिकशास्त्रमा स्नातकोत्तरका गरेका यिनी लेखनका साथसाथै शिक्षण पेशामा संलग्न छन् । साहित्यिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका खनाल गजल मञ्च मकवानपुरका संस्थापक सचिव, चितवन एसोसिएसन अफ फिजिक्स स्टुडेन्ट्सका पूर्व उपाध्यक्ष, साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष ,श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका संस्थापक सचिव र प्रलेस नेपालका राष्ट्रिय परिषद् सदस्य समेत रहेका छन् । हेटौँडाको टिम टेलिभिजनमा साहित्यिक कार्यक्रम ‘सिर्जनाका सुसेली’को प्रस्तोता समेत रहेका खनाल त्रिभुवन मावि हेउनपा –११ का माध्यमिक तह विज्ञान विषयका स्थायी शिक्षक हुन् साथै जनप्रिय माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयमा प्राविधिकतर्फ भौतिक विज्ञानका प्रशिक्षक हुन् । ’सपनाका अवयव’ खनालको दोस्रो कविता सङ्ग्रह हो । उनीसँग भएको वार्ता ।

    कविता किन लेख्नुहुन्छ ?
    साधारण लागे पनि यो गम्भीर प्रश्न हो । कविता लेखनबारे सबैका आआफ्ना मान्यता हुन्छन् । सुरुवाती तिर रहर पनि एउटा कारक थियो । मेरो लागि कविता रहर हुँदै आफ्नो अभिव्यक्तिको एउटा माध्यम बन्न पुगेको छ । समाजसँगको घर्षणमा रहँदा अनुभूतिका सुखद् र तिक्त अनुभवहरू सञ्चय हुन पुग्छन् । कतिपय अनुभवलाई सञ्चय गरी राख्नु नै ठीक महशूश हुन्छ भने कतिपय अभिव्यक्त गर्नु आवश्यक लाग्छ । त्यही अभिव्यक्तिको सहज माध्यम कविता बनेको छ ।


    सङ्ख्यात्मक रुपमा कमै कविता लेखिरहनु भएको देखिन्छ । दोस्रोे कविता सङ्ग्रहमा जम्मा तेत्तीस वटा कविता मात्र समावेश गर्नुभएछ । कवितामा के को खोजी गर्नुहुन्छ ?

    कविताको सङ्ख्या नबढाउँ भन्ने त लाग्दैन । आफैँले महशूश गर्दा कवितामाथि न्याय गर्न सकेँ भन्ने लागेपछि प्रकाशन गर्ने इच्छा राख्छु । कविता लेखन उच्च र अचम्मको काम हो भन्नेमा म विश्वास गर्दिनँ । सामान्य श्वास फेर्नु जस्तै हो कविता । एउटा नियमित प्रक्रिया । तपाईँ यहीँ पनि श्वास फेर्नु सामान्य प्रक्रिया हो र ? भन्ने प्रश्न गर्न सक्नुहुन्छ । श्वास फेर्दा तपाईँ कुनै भारी बोकेजस्तो गाह्रो महशूश त गर्नु हुन्न नि ,त्यस्तै भन्न खोजेको । कविताले चेतनाको स्तरमा केही प्रभाव राख्न सक्छ र राखेका पनि छन् । अफ्रिकन ओरिजिन भएकी लेखक तथा उपन्यासकार टनेला बोनीका अनुसार ‘कविता, कलात्मक सृजनाको अन्य रूपहरू जस्तै, मानवताको एक स्तम्भ हो । भावना, संवेदनशीलता र कल्पनाशक्तिको मार्ग अनुसरण गरेर कविताले ज्ञान र मानवीय मूल्यहरू प्रसारित गर्दछ । अझ राम्रो, यसले मानव, शरीर र आत्मालाई आकार दिन्छ ।’ म आफूलाई पनि कविता मानवीय मूल्य स्थापनाका निम्ति समर्पण गरुँ भन्ने भाव सधैँ आइरहन्छ ।
    तपाईँको ‘विचारको उल्टो नदी’ कविता सङ्ग्रह २०७१ मा प्रकाशित थियो । हाल ‘सपनाका अवयव’ प्रकाशित भएको छ । अपेक्षाकृत सरल देखिएको छ कृति । सरलतातर्फ उन्मुख किन भए तपाईका कविताहरू ?
    सरल लेख्न खोज्नु त मेरो स्वअपेक्षा छँदै छ । तर अपेक्षाकृत सरल हुन सकेको छैन । ‘विचारको उल्टो नदी’सँग तुलना गर्दा ‘सपनाका अवयव’का कविता केही सरल अवश्य छन् । तर त्यसो हुँदा समेत पनि केही पाठक तथा साथीहरूले व्यङ्ग्यस्वरुप कविताहरूको अर्थ लगाइदिनु प¥यो भनी फोन गर्नुहुन्छ र भन्नु पनि हुन्छ । एक ढङ्गले जिस्काउनु भयो भनी रमाइलो पनि मान्छु । अर्को ढङ्गले केही सोचनीय छ भन्ने महशूश गर्छु । सरलताभित्र गम्भीर भाव पैदा गर्न सकेमा कविताको शक्ति महशूश म आफूले गर्ने कारण त्यतातर्फको यात्रा मेरो इच्छा हो ।

    तपाईँ भौतिक विज्ञानको विद्यार्थी , फिजिक्सलाई अलिक रुखो विज्ञान पनि भनिन्छ । कविता त मन छुने गरी र प्रभावित पार्ने गरी लेखिन्छ भन्ने छ । यसबारे यहाँको बुझाइ के छ ?

    यो त तपाईँले मेरा कविताहरू ध्यान दिएर पढ्नु भयो भने पनि महशूश गर्नु हुन्छ । म अलिक अररो किसिमकै कविता लेख्छु होला भन्ने अनुभव गर्छु । सोझै मनको चोठाकोठा दगुर्ने कविता लेखिहाल्दिन कि भन्ने लाग्छ तर कविता बेलुनको हावा फुस्किँदाको ‘फुस्स….’जति मात्र हुनुहुँदैन भन्नेमाचाहीँ सचेत बन्ने प्रयत्न रहन्छ मेरो । केही तर्कहरू, दृष्टिकोण र प्रभावका विषय भने म उठाउन चाहन्छु कवितामार्फत । कविताको निश्चित ज्यामितिय आकृति र यसको उठान ÷बैठान तथा अन्य स्वरुपहरू बारे उत्ति मतलब राख्दिन । एलान लिन्ड्से र क्यान्डास बर्गस्ट्रमको पुस्तक ‘एन इन्ट्रोडक्सन टु पोएट्री’मा लेखिएको छ–‘वास्तविक कविताको सन्दर्भमा बुझिएको, काव्य भाषा राम्रो आवाज लाग्ने शब्दहरू मात्र होइनन्, जसको कुनै वास्तविक अर्थ हुँदैन । काव्यमय भाषा पूर्ण सम्भव भाषा हो । कविहरूले कविताको प्रत्येक अंशमा निरपेक्ष अधिकतम पूर्ण बनाउने अभ्यास गर्दछन् । यसले कहिलेकाँही कविताहरू बुझ्न गाह्रो बनाउँदछ , र त्यो अधैर्य व्यक्तिले बुझ्दैन । अर्को शब्दमा, कविता कहिलेकाँही खाली लाग्ने एउटा कारण यो हो कि यो एकदम भरिएको छ ।’ यसकारण कविता यसोयसो ठीक र यसोयसो बेठीक भन्ने पक्षमा म आफू छैन ।

    कवितालाई हेर्ने बजारको आँखा उति सही छैन । जति आख्यानलाई रुचाउँछ ,कविताप्रति नाक खुम्च्याउँछ । अनि फेरि कविता कर्म, किन ?
    बजारको इच्छा मुताविक चल्नु थियो भने त चोकमा पान पसल थापेर बेच्नु नै ठीक होला । म पान पसल सञ्चालन गर्नेहरूलाई अत्यधिक सम्मान गर्छु । हार्दिकता छ उहाँहरू प्रति । मात्र बजारसँग जोडिने पुस्तकको तरिका त्यो होइन भन्न खोजेको हुँ । कवितालाई चेतनाको स्तरबाटै बुझ्नुपर्छ र सामाजिक सङ्घुलनमा कविता यात्राको प्रकृति अलिक फरकै हुन्छ भन्ने बुझाइ रहेको छ ।
    कवितामा राजनीतिको प्रसङ्ग पनि जोडिन्छ । कविताले राजनीति गर्ने होइन भन्ने लगायतका कुरा आउँछन् । यसबारे तपाईँको धारणा के छ ?
    यसबारे व्याख्या र पुनरोक्ति जरुरी छैन होला भन्ने लाग्छ । राजनीति नीतिहरू मध्ये सबैभन्दा माथिको नीति हो । कविता लेखन यसैको सानो अंश हो । तपाईँ हामी जे गर्छौँ त्यो कुनै न कुनै तरिकाले राजनीतिसँग जोडिन्छ । राजनीतिबाट अलग रहेर केही गर्छु भन्नु असम्भव छ । दलगत र गुटगत राजनीतिको घेराभित्र सीमित हुनुलाई राजनीति बुझ्नु सही हुन्न । राजनैतिक दृष्टिकोण निर्माण गर्नु र दलगत स्वार्थमा केन्द्रित लेखन गर्नु फरक पक्ष हुन् । फ्रेन्च फिलोसोफर जेसिक रेन्चर आफ्नो कार्यपत्रमा उल्लेख गर्छन् –‘साहित्यको राजनीति यसका लेखकहरूको राजनीति होइन । यसले सामाजिक र राजनैतिक मुद्दाहरू र उनीहरूको समयको संघर्षको लागि उनीहरूको व्यक्तिगत प्रतिबद्धतालाई बुझिँदैन । बरु यसले राजनीतिक घटनाहरूले प्रतिनिधित्व गर्ने मोडहरू वा सामाजिक संरचना र उनीहरूका पुस्तकहरूमा सामाजिक संघर्षहरूको अन्तर्यलाई प्रकट गर्दछ ।’ त्यसकारण कविता राजनीतिभन्दा भिन्न छ भन्ने तर्क सही लाग्दैन ।

    कविता युगको बयान मात्र हो कि युग देखाउने कस्तो हुनुपर्छ कविताको स्वरुप ?
    कविता समाजको दर्पण हो भन्ने कुरा लामो समयदेखि हामीलाई प्रशिक्षित गर्दै आइएको छ । यसको मर्मले हेर्दा युगको बयान नै कविता हो भन्ने लाग्छ । दर्पण अथवा ऐनाको काम परावर्तन गर्नु हो । परावर्तन मात्रले सकियो भन्नेमा म आफूचाहीँ सन्तुष्ट छैन । ऐनाले गर्ने भन्दा पनि लेन्सले गर्ने काम पो गर्नुपर्छ कि भन्ने लाग्छ । लेन्सले परावर्तन निकै कम गर्छ तर यसले आवर्तन गर्दछ । आवर्तनमा प्रकाश बाङ्गिने र बाङ्गिँदा केन्द्रित र विकेन्द्रित प्रक्रियाहरू चल्छन् । त्यसो पो हुनुपर्ने हो भन्ने बुझ्छु । यसको साङ्केतिक स्वरुप बुझिहाल्नुभयो होला कविता युग निर्देशनको आधार बन्नुपर्छ भन्ने नै मेरो मत हो ।

    विवाह साहित्यिक गर्नुभएछ , कुनै फरक उद्येश्यपरक थियो कि ?
    अँ मेरो विवाह कवि भावना सापकोटासँग भएको हो । हाल त दुई बालबच्चा पनि भइसकेका छन् । म सामान्य कोटीको मान्छे हुँ , जसका अत्यधिक ठूला सपनाहरू छैनन् । कविता सङ्ग्रहको नाम पनि ‘सपनाका अवयव’ राखेको छु । शीर्षक कवितामा उल्लेख गरेको छु – ‘म एकैपटक ठूलो सपनाको पहिरोमा थिचिन चाहन्नँ’ । यो कविताकै एक लाइन हो । विवाह पनि त्यस समयको एउटा अवयव सपना थियो । जसलाई जोगाउनु थियो । जुन बाटो हिँडिरहेथेँ , त्यही बाटोमा उनी थिइन् । उनीसँग जीवनमा जोडिने शैली त्यो बन्न पुग्यो , त्यो असामान्य लागेन । खास फरक उद्येश्यपरक थिएन । तर लेखन यात्राबाट विमुख हुनुहुन्न भन्नेमा सो समयको स्मरणले झक्झक्याइ रहन्छ ।

    कविता लेख्नु हुन्नथ्यो भने यहाँको कुन परिचय बन्थ्योे होला भन्ने लाग्छ ?
    प्रश्न काल्पनिक हो तर पनि रमाइलो प्रश्न हो यो । केही परिचय रहँदैनथ्यो भन्ने त पक्कै होइन । अहिलेको यो परिचय पनि सामान्य परिचय हो । कवि हुनु अर्को जीवमा विकास हुनु होइन । उही जीवभित्र एउटा फरक अभ्यास मात्र हो । त्यस्तै अर्को कुनै फरक अभ्यासमा रहिन्थ्यो वा कवि बाहेकको अहिलेको बाँकी परिचय जीवित रहन्थ्यो । धन्यवाद यति मीठो प्रश्नका लागि ।

    फेसबुक प्रतिक्रिया