• रंग पत्रकार गोकर्ण रहेनन्, अलबिदा गोकर्ण !

    ४ मंसिर २०७७, बिहीबार

    छोटो समयमै खरो चलचित्र समिक्षाले दरो उपस्थिती जनाएका रंग पत्रकार गोकर्ण गौतमको बिहीबार बिहान निधन भएको छ। मस्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्ने क्रममा उनको निधन भएको हो।

    टाउको दुख्ने समस्याले च्यापेपछि अस्पताल पुगेका उनलाई गत सोमबार अस्पताल उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्यूरो अस्पताल) बाँसबारीमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान ११:३० बजे उनको निधन भएको हो ।हेटौंडाका ३१ वर्षीय गौतम कान्तिपुर दैनिकका सक्रिय पत्रकार थिए। सिनेमा र कला समीक्षकका रूपमा परिचय बनाएका उनी समसायिक विषयमा पनि रिपोर्टिङ गर्थे।

    बिशेषगरी चलचित्रका खरो समालोचनाले चलचित्र जगतको माहोल तताउने गर्दथ्यो । उनले कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित हुने नेपाल साप्ताहिक म्यागेजिनमा पाँच वर्षभन्दा बढी समय बिताएका थिए।


    कलाकार दिपक राज गिरी लेख्छन्, ‘हरेक पल्ट चलचित्र बनाउदै गर्दा यो अनुहार
    दिमागमा नाचिरहन्थ्यो !,मरेपछि सबैलाइ मृदुभाषी भन्ने चलन छ,त्यो हिसाबले त उनि पनि मृदुभाषि नै थिए,तर बास्तबिक रूपमा भन्नु पर्दा चाहि स्पष्ट थिए ,एक चलचित्र समिक्षकको रूपमा उनको कलम खरो थियो, दर्शक त खुशि भए तर गोकर्णले भोली के लेख्छ कुन्नि भन्ने डर लागिरहन्थ्यो ।।।। यो डरले सचेत भइन्थ्यो पनि ।।। पछिल्लो फिल्ममा “ धेरै सुध्रिनु भएछ , अझै बॉकि छ है”
    भनेको हिजो जस्तै लाग्छ !! सधै हामि चलचित्रकर्मीहरू लाइ सचेत गराइ राख्ने
    एक होनहार यूबाको मत्यु साच्चै नै अकल्पनीय र दुखद छ, प्रिय गोकर्ड !!! सधै दिमागमा हुन्थ्यौ , अब मनमा रहिरहने छौ, हार्दिक श्रद्धांजलि ।।।।।”

    कलाकार निमात्री तथा निर्देशक दिपा श्री निरौला लेख्छिन्,’जे सुने त्त्यो कुरा सत्य नहोस ।।। हे भगवान के सुन्नु परेको यो, कुशल पत्रकार गोकर्ण गौतम सधै हाम्रो मन मा हुनुहुन्छ!

    निर्देशक प्रदिप भट्टराईले दुखि हुँदै सामाजिक सञ्जालमा लेख्छन्, ‘कस्तो छ फिल्म भन्दा ए सब बबाल दाम्मी छ भन्ने भिडमा यो यो दाम्मी छ, यो यो झुरै छ भनेर खुलेरै भन्ने थोरै मान्छेहरुमा तपाइँ अग्रपंक्तिमा हुनुहुन्थ्यो गोकर्ण जि । दरो अनि खरो समिक्षकका रुपमा चलचित्र क्षेत्रले तपाइलाइ अनन्त काल सम्म सम्झिरहनेछ । हार्दिक श्रद्धाञ्जली 🌹🌹🌹”

    फेसबुक प्रतिक्रिया