• भौतिक दूरी कायम गरी थोरै संख्याको समूह र सिफ्टमा पठनपाठन गराईने

    ३ मंसिर २०७७, बुधबार

    अब जिल्लास्तरमै परामर्श गरी स्थानीय सरकारले विद्यालय खोल्न र बन्द गर्न सक्ने बातावरण बनेको छ ।

    संक्रमणको जोखिम कायमै भए पनि सुरक्षा अपनाएर काठमाडौं उपत्यकासहित धेरै स्थानीय तहमां विद्यालय खुलेका छन् । वैकल्पिक विधिबाट सञ्चालन भएका कक्षा प्रभावकारी नभएपछि भौतिक दूरी कायम गरी थोरै संख्याको समूह र सिफ्टमा पठनपाठन गर्न थालिएको हो ।
    उपत्यकाका केही स्थानीय तहले अनलाइनको पहुँच नभएका ठाउँ तथा वैकल्पिक विधि पनि सफल नभएका विद्यालयमा अभिभावकको सहमति लिएर पठनपाठन नियमित गर्ने निर्णय गरिसकेका छन् । उपत्यकाका कागेश्वरी मनहरा, शिवपुरी, गोकर्णेश्वर, शंखरापुर, चन्द्रागिरिलगायतका नगरपालिकामा सानो समूहमा कक्षा सञ्चालन भइरहेका छन् ।
    कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् ।
    शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।
    संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । गत १२ साउनको मन्त्रिपरिषद् बैठकले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । सोहीअनुसार विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन कार्यढाँचा जारी गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमै रहे पनि संघको निर्देशनमा बन्द भएका शैक्षिक संस्था खोल्नका लागि मन्त्रालयले बाटो खोलेको हो ।
    कार्यढाँचामा संक्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरेर भयरहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याई बालबालिकाको शिक्षण सिकाइ, परीक्षा तथा मूल्यांकनसम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ । त्यस्तै, सहज वातावरण भए विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने, जोखिमको अवस्था देखिए बन्द गर्ने तथा सहज हुँदा पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । देशभरका सबै सार्वजनिक तथा निजी विद्यालय सञ्चालनको तयारी तथा सञ्चालनका क्रममा गर्नुपर्ने न्यूनतम क्रियाकलापको खाका कार्यढाँचामा उल्लेख छ ।

    विद्यालय सञ्चालनका लागि पूर्वतयारी गर्नुपर्नेछ । विद्यालयमा रहेका क्वारेन्टिन वा आइसोलेसन सेन्टर हटाइनेछन् । त्यससँगै विद्यालय भवनको निर्मलीकरण पनि गर्नुपर्नेछ । व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्ने निर्णयसँगै जनस्वास्थ्य र सुरक्षाका मापदण्डको जानकारी गराउँदै बालबालिकालाई पठनपाठनका लागि मानसिक रूपमा तयार गर्नुपर्नेछ ।

    संक्रमित शिक्षक तथा विद्यार्थीले विद्यालय जान नपाउने
    स्थानीय तह र विद्यालयले बालबालिकाको सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायत न्यूनतम पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर र तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ । त्यस्तै, मास्कको प्रयोग, विद्यार्थीबीच भौतिक दूरी, खाजालगायत व्यवस्थापन पनि गर्नुपर्नेछ ।
    स्थानीय स्वास्थ्य कार्यकर्ता, सामाजिक परिचालक, मनोपरामर्शदाता तथा सम्पर्क शिक्षक तोकी बालबालिका, शिक्षक, कर्मचारी एवं अभिभावकलाई आवश्यकताअनुसार मनोसामाजिक परामर्श दिने व्यवस्था पनि मिलाउनुपर्ने कार्यढाँचामा उल्लेख छ । संक्रमित शिक्षक, कर्मचारी र बालबालिकालाई पूर्ण रूपमा निको नहुन्जेलसम्म विद्यालयमा नआउने वातावरण मिलाउने र सिकाइ निरन्तरताका लागि वैकल्पिक उपाय पहिले नै तय गर्नुपर्नेछ ।

    फेसबुक प्रतिक्रिया