• चलचित्र ‘ए मेरो हजुर ३’ यूट्युबमा

    २१ कार्तिक २०७७, शुक्रबार

    हलमा रिलिज भएको डेढ वर्षपछि अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक भएको छ । दिपावलीको छेको पारेर यो चलचित्र बुढासुब्बा डिजिटलबाट यूट्युबमा सार्वजनिक गरिएको हो । बक्सअफिसमा ब्लकबस्टर व्यापार गरेको यो चलचित्र यूट्युबमा हेर्न दर्शकहरु लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।

    झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ बाट सुहाना थापाले अभिनेत्री रुपमा डेब्यू गरेकी थिइन् । उनी झरनाकी एक मात्र छोरी हुन् । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका थिए । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

    चलचित्रले एक सेलिब्रेटी र फ्यानको प्रेमकथा वाचन गरेको छ । चलचित्रमा अनमोल केसी गायकको भूमिकामा छन् । उनको फ्यानको भूमिका सुहानाले निर्वाह गरेकी छन् । चलचित्रलाई हलमा दर्शकले अत्याधिक रुचाएका कारण यूट्युबमा पनि त्यो माया पाउनेमा निर्माण टिम विश्वस्त छ । यो चलचित्र यूट्युबमा सर्वाधिक हेरिने पहिलो नेपाली चलचित्र बन्ने पनि धेरै अनुमान गरेका छन् ।

    चलचित्रमा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, सरोज खनाल, रविन्द्र झा, रुपा घिसिंग, रक्षा गौतम, विशाल पहारी, रेअर राईलगायतको अभिनय छ । दशैंको फूलपातीबाट ‘ए मेरो हजुर’ सिरिजको चौंथो पार्टको छायांकन भइरहेको छ । तिहारसम्म चलचित्रको छायांकन सकेर यस वर्षको अन्तिमसम्म प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । यसमा पनि अनमोल र सुहानाको जोडी बाँधिएको छ ।

    फेसबुक प्रतिक्रिया