• सफलताको कथाः बैदेशिक रोजगारी देखि कम्पनी मालिक सम्मको यात्रा

    १६ कार्तिक २०७७, आईतवार

    पर्शाको पर्शागढी नगरपालिकामा जन्मिएर मकवानपुरको हेटौडालाई कर्मथलो बनाईरहेका ३७ बर्षीय व्यवसायी घनस्याम दहालको परिचय ५ बर्षको बिचमा एकदमै फेरिएको छ । बैदेशिक रोजगारीबाट सन २०१० मा फर्कीएका दहालले दुवाईमा सिकेको फलामको कामको शीपलाई नै संझिए र उनि र उनका जेठान श्रीकृष्ण न्यौपाने मिलेर सुरु गरे श्रीकृष्ण ईन्जिनियरिंङ कन्स्ट्रक्सन प्रा.ली.। सन २०१६ मा बिधिवत दर्ता गरेर कार्य सुरुगरेका दहालको व्यवसायमा आज ६०० जना भन्दा बढी कामदारले रोजगारी पाएका छन् । यीनै व्यवसायी संङ आशिष दुलालले गरेको कुराकानी :


    प्रश्नः यहाँलाई स्वागत छ ।
    उत्तरः धन्यवाद ।


    प्रश्नः दशैं कस्तो भयो?
    उत्तरः कामका बिचमा सुरक्षित भएर सानो दशैं मनायौ । अहिले काममा फर्कीसकेको छु ।


    प्रश्नः बैदेशिक रोजगारीमा बिदेस पुगेर मजदुरी गरेको मान्छे आज व्यवसायी भएर नेपालमै सयौंलाई रोजगारी दिईरहनु भएको छ, कसरी संभव भयो?
    उत्तरः असंभब त केहि छैन, लगन भयो भने । मैले दुबाईमा हुँदा पनि यस्तै किसिमको कामको अनुभव गरिसकेको थिएं । मैले पानि जहाज बनाउने कम्पनिमा काम गरेको अनुभवलाई मैले नेपालमा पनि यस्तै केही काम गर्न पाए हुने भन्ने सदैव सोच्ने गर्थें । र नेपालमा आए पछि मेरा जेठान संग मिलेर हामिले यो काम सुरुवातमा अनौपचारिकरुपमा सुरु गर्यौं र सन २०१६मा दर्ता गरेर आज ६०० मजदुरले नियमीत काम गर्ने कम्पनि बनायौं ।


    प्रश्नः यो कम्पनिले के काम गर्छ, यसको कार्य क्षेत्र कस्तो छ ?
    उत्तरः यो कम्पनिले फलामका सम्पुर्ण कार्य गर्छ । जस्तो सिमेन्ट फ्याक्ट्री, हाईड्रोपावर लगायतका ठुला ठुला प्लान्टहरुमा मेटल वर्कको काम गर्ने यसको कार्य क्षेत्र हो । भारतिय निर्माणकर्ताहरुको दवदवा भएको अवस्थामा यस कम्पनिले बैकल्पिक उपस्थिती जनाएको हो र बिस्तारै स्थापित हुने क्रममा रहेको छ ।


    प्रश्नः एउटा मध्यम बर्गीय युवालाई लाखौं लगानी गरेर व्यवसाय चलाउन कत्तिको समस्या आए ?
    उत्तरः (मुस्कुराउदै) सुरुवातको समस्याको त कुरै नगरौं, कहिले नाकाबन्दी, कहिले भुकम्पले व्यवसाय तहसनहस बनायो । चार महिना सम्म सुत्न पनि सकिन । तर अहिले बिस्तार राम्रो छ । धैर्यता हुनु प¥यो, एकदिन सफलता अवस्य हात लाग्छ ।


    प्रश्नः तर अहिले कयौं नेपाली बैदेशिक रोजगारीबाट फर्केका छन्, नेपालमा अवसर छैन भन्छन् नी?
    उत्तरः यो त सबै भन्ने कुरा न हो । अवसर प्रशस्त छन् । नेपाल बिकास हुँदै छ, संभावनाहरु प्रसस्त छन् । श्रम गर्न सरम मान्नु भएन, स्वरोजगार तथा रोजगारका अवसर खुल्दै छन् । ६०० जना श्रमीकहरु मेरोमा काम गरिरहेछन् तर अझै ५०० भन्दा बढी श्रमिकहरु भारतियकै भर पर्नु परिरहेको छ । शीप सिकेका या शीप सिकेर काम गर्न चाहनेका लागी यो अवसर मेरोमा तथा अन्त पनि पाउन सकिन्छ या सानो ठुलो आफ्नै व्यवसाय पनि चलाउन सकिन्छ ।


    प्रश्नः अहिले कहाँ कहाँ परियोजना चलिरहेको छ ?
    उत्तरः अहिले मिर्चैया, धादिंग, सुनवल, दांग नेपालगन्ज, कपिलबस्तु लगायतका स्थानमा काम भैरहेको छ । बिशेषगरी सबैजसो सिमेन्ट फ्याक्ट्रीका मेटल वक्र्स हामिले नै हेरिरहेका छौं ।


    प्रश्नः सफल हुदा कस्तो हुन्छ?
    उत्तरः खुशि लाग्छ । कर्ममा बिस्वास झन जाग्छ । नेपालमा भारतीय कन्ट्रयााक्टर लाई बिस्तापित गर्ने बातावरण बन्दै छ ।


    प्रश्नः केहि सन्देस?
    उत्तरः श्रम गर्न सरम नमानौं, नेपाल नेताले बनाउने हैन, हाम्रो पनि जिम्मेवारी छ । मेहनत गरौं, बेरोजगारी अन्त्य गरौं, देशको बिकास गरौं भन्न चाहन्छु । अन्त्यमा बैदेशीक रोजगारीबाट आजित भएर नेपाल आएको एक युवाले दुई चार बर्षमा ६०० जनालाई रोजगारी दिन सक्छ भने तपाईले पनि सक्नुहुन्छ । आफुलाई बिश्वास गर्नुहोस, आँउदो तिहारको सबैलाई सुभकामना ।

    फेसबुक प्रतिक्रिया