• दशैंका मुखमा दिनदिनै उकालो लाग्दै कोरोना संक्रमण, विगत २४ घण्टामा ४,३९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

    ३० आश्विन २०७७, शुक्रबार

    नेपालमा विगत २४ घण्टामा ४,३९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

    देशभरि विभिन्न जिल्लामा गरिएका १६,५३१ वटा नमुना परीक्षणमा त्यति सङ्क्रमित फेला परेका हुन्।काठमाण्डौ उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये २,४०२ जना काठमाण्डौ उपत्यकाका तीन जिल्लाका हुन्।योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख २६ हजार नाघेको छ।

    चौबीस घण्टाको अवधिमा शुक्रवार अपराह्णसम्म थप २१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ, योसहित नेपालमा अहिलेसम्म ७१५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि ३,५२२ सङ्क्रमित रोगमुक्त भएका छन्।अहिलेसम्म ८८,०४० सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६९।८ प्रतिशत हो।बिहीवार ३,७४९ जनामा सङ्क्रमण र १९ जनाको मृत्यु पुष्टि भएको थियो।गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।गत शनिवार मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो।त्यो नै अहिलेसम्मको सर्वाधिक दैनिक वृद्धि हो।

    दश दिनको अवधिमा अहिले चौथो पटक दैनिक पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ४,००० नाघेको हो।अहिले देशभरि ३७,३८२ जनामा सक्रिय सङ्क्रमण छ।तीमध्ये १२,३३६ जना संस्थागत आइसोलेशनमा र बाँकी २५,०४६ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

    वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।तीमध्ये अधिकांश काठमाण्डौ उपत्यकाका हुन्।गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

    त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ नाघ्यो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु