• नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारमा, अध्यक्षद्वयको ३ घण्टा लामो छलफल

    २४ भाद्र २०७७, बुधबार

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शुरुभएको बैठक सकिएको छ ।
    बैठकले शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकको प्रस्ताव तयार गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे तीन घण्टा छलफल भयो । विहान ११ः३० बजेबाट शुरुभएको दुई अध्यक्षबीचको छलफल २ः४५ मा सकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका थिए।

    बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन र त्यसमा थप्नुपर्ने विषय समेटेर दुई अध्यक्षले बैठकको प्रस्ताव तयार गरेको बुझिएको छ । भदौ १८ गते बसेको पार्टी सचिवालय बैठकमा वरिष्ठ नेताहरुले कार्यदलको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए। कार्यदलको प्रतिवेदन २६ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत भएपछि त्यसमा थप सुझावसहित प्रतिवेदन पारित गर्ने तयारी अध्यक्षद्वयको छ ।

    यसअघि साउन १३ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक स्थगित भएको थियो । त्यसपछि बैठक बसेको थिएन । स्थगित बैठक शुक्रबार बस्ने तय भएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार दुई अध्यक्षले लामो गृहकार्य गरेर बैठकको प्रस्ताव तयार गरेका छन् । सो प्रस्ताव शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत हुनेछ । सोहीअनुसार प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार दुई अध्यक्षबीच लामो समय भएको छलफलले बैठकको प्रस्ताव तयारीमा केन्द्रित रहेको थियो ।

    यसअघि गत सोमबार पनि दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टा छलफल भएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा पार्टीमा देखिएको आन्तरिक विवाद सल्टाउनेगरी नेकपा अगाडि बढेको छ । (फाईल फोटो)

    फेसबुक प्रतिक्रिया