• कृषीप्रधान मुलुकमा मलको हाहाकार, कोरोनाको त्रास भुलेर घण्टौ लाईनमा कृषक

    १८ भाद्र २०७७, बिहीबार

    कृषीप्रधान भनेर भनिएता पनि किसानले मलको उपयोग गर्न रुवाबासी गर्नुपर्ने अवस्था छ ।
    मलको अभाव समाधान गर्न दीर्धकालिन योजना ल्याउनु पर्ने आवस्यकता बर्षौ देखी महसुस गरिएता पनि ठोस कदम नचाल्दा समस्या ज्युँ का त्युँ छ । धान रोप्ने बेलामा आवश्यक रासायनिक मल समयमा आपूर्ति नहुँदा देशले पैँचो माग्नुपर्ने अवस्था सिर्जना भएको छ र त्यसका लागि प्रधानमन्त्री स्तरबाट नै पहल गर्नुपरेको छ । नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने सोच नै राज्यले बनाएको छैन ।
    कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको चितवनमा एकाबिहानै ठूलो समूह लामबद्ध भएर बस्यो । तिनीहरू कोरोनाको परीक्षण गराउन वा अन्य माग राखी आन्दोलन गर्न आएका थिएनन् ।
    ढिला गरी त्यो पनि थोरै परिणाममा युरिया मल आएपछि कोरोना सङ्क्रमणको जोखिम मोलेर चितवनका सहकारीमा किसानको लाइन लाग्ने गरेको छ । यो अवस्था चितवन र मकवानपुरमा मात्र हैन, यस्तो अवस्था देश भरिनै उस्तै छ ।
    जिल्लाका सहकारीमार्फत युरिया मल वितरण गर्ने भएपछि बुधबार वितरण स्थलमा मेला लागेझैँ किसानको भीड लागेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले सङ्क्रमण फैलिन नदिनका लागि भीड नगर्न, सामूहिक रूपमा भेला नहुन निषेधाज्ञा लगाए पनि मलको अभाव भएपछि किसानले जोखिम मोलेर मल खरिद गर्न आएका हुन् । भरतपुर महानगरपालिका–६ को सर्वोदय बहुउद्देश्यीय कृषि सहकारी संस्थामा ११५ बोरा युरिया मल आएको छ भन्ने थाहा पाएपछि बिहान ३ः०० बजेदेखि नै किसान लाइनमा बसेका थिए ।
    मल खरिद गर्न भीड धेरै भएपछि सहकारीले प्रतिकिसान १० केजी मल वितरण गरेको सहकारीका अध्यक्ष प्रेमराज कोइरालाले बताए।
    सोमबार ६० बोरा आएको थियो । मङ्गलबार ५५ बोरा ल्याए वितरण गर्न समस्या हुने भएपछि प्रशासनलाई जानकारी गराएर वितरण गरेको कोइरालाले बताए ।
    जिल्लाका एक सय सहकारी कार्यालयमा मल लिनका लागि किसानको यस्तै भीड लागेको देखिन्छ तर किसानले मागअनुसार मल पाएका छैनन् । धान रोपाइँ सुरु गर्नुअघि पनि युरिया मल किन्न यहाँका किसानले यस्तै हैरानी खेप्नुपरेको थियो । धानमा हुने झार गोडिसकेपछि उत्पादन बढाउन युरिया मल हाल्नैपर्ने किसानको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया