• बैंकहरुले ऋणिलाई फोर्स नगर्ने तर असारमा ऋणको भाका नसारिने

    १८ असार २०७७, बिहीबार

    लकडाउनसँगै नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज भुक्तानी असारमा गरे हुने नीति बनाएको छ ।

    यदि भुक्तानी गर्नु पर्ने समयमा नै भुक्तानी गरेको अवस्थामा ब्याजको १० प्रतिशत छुट दिन बैंकहरुलाई निर्देशन दिइएको थियो । केहिले त ऋण समयमा नै तिरे पनि धेरैले तिर्न सकेका छैनन् ।

    राष्ट्र बैंकले असार मसान्तमा ऋण तिर्न भनेको छ, त्यो समय पनि आइपुग्नै लागेपछि ऋणिहरुमा अब के गर्ने भन्ने अन्योलता छाएको छ । राष्ट्र बैंकले घोषणा गरेको सहुलियतले चित्त नबुझाएका उद्योगी-व्यवसायीहरु बजेटले केहि गर्छ कि भन्ने अपैषामा थिए । तर बजेटले पनि खासै सम्वोधन नगरेपछि उद्योगी-व्यवसायीहरु यतिबेला मौद्रिक नीतिको प्रतिक्षमा छन् ।

    धेरैको अपेक्षा ब्याज छुट/मिनाहा नै छ ।मौद्रिक नीतिले केहि व्यवस्था गर्छ र त्यसपछि ऋण तिर्छु भन्ने व्यवसायीहरुमा भने यतिबेला अन्योलता देखिएको छ । यसको कारक हो, मौद्रिक नीति सार्वजनिक हुुने समयावधि ।

    गभर्नर महाप्रसाद अधिकारीले साउन पहिलो साता मौद्रिक नीति आउने बताएका छन् । अब मौद्रिक नीतिले राहत देला भन्ने अपेक्षामा रहेका उद्योगी व्यवसायीहरुले असारमा कर्जा चुक्ता गर्न भने अन्योलता छ ।

    ब्याज सहुलियतका विषयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शले समेत राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेका छन् । मौद्रिक नीतिले सहुलियतको विशेष प्याकेज ल्याउनु पर्ने निजी क्षेत्रको धारणा छ ।

    यद्यपि ठूला व्यवसायीहरु धेरैले ऋण चुक्ता गरेका छन् । कर्जा प्रवाहको पछिल्लो अवस्था हेर्ने हो भने पनि बैंकहरुले कर्जा लगानी घटेको देखिन्छ । तिर्नसक्नेले ऋण तिरेको र नयाँ कर्जा लगानी नभएका कारण कर्जा कम देखिएको नेपाल बैंकर्स संघले बताएको छ ।

    संघको तथ्यांक अनुसार लकडाउनको मोडालिटी परिवर्तन भएपछि २ सातामै ७ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी घटेको छ । कोरोना त्रास बाँकी नै रहेका कारण नयाँ कर्जा लगानी नभएको र पुरानो कर्जा चुक्ता हुन भने केही छुट पाइन्छ कि भन्ने आश व्यवसायीमा रहेको बैंकरहरु बताउछन् ।

    खासगरी यस्तो अन्योलता साना व्यवसायीहरुमा छ । ‘हामी त असारमै आउछ भनेर ढुक्क अवस्थामै छौं, अब साउनमा आउने भएपछि असारको ऋण के गर्ने भन्ने अलिकति तनाब बढेको छ’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल भन्छन्, ‘यतिबेला ब्यापार छैन, लकडाउन सुरुभएदेखि असारसम्मको किस्ता कसरी तिर्ने समस्या भएको छ ।’

    व्यवसायीहरुको खास समस्या भनेको असारमा तिर्नु पर्ने धेरै महिनाको किस्ता हो । ऋणीलाई राष्ट्र बैंकले चैतमा तिर्नुपर्ने कर्जा पनि असारमा तिर्दा हुन्छ भनेको छ । चैत, वैशाख र जेठको साथै असारको किस्ता समेत एकै पटक तिर्नु परेपछि ऋणीलाई गाह्रो पर्ने देखिएको छ ।

    उता बैंकहरुले पनि ऋणिलाई फोर्स नगर्ने नीति लिएका छन् । वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले सक्नेले तिर्ने र नसक्नेलाई असारमै तिर्नै पर्छ भनेर दवाव नगर्ने नीति लिएको छ ।

    संघका अध्यक्ष भुवन दाहालले सक्नेले असारमै तिर्नुपर्ने बताए । उनले नसक्नेहरुका लागि साउन पहलिो साता आउने मौद्रिक नीतिले केही सहुलियत दिनसक्ने बताए । ऋण तिर्न सक्षमले भने असार तिर्नु राम्रो हुने उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया