• दिल्लीको “रामलिला” देखि कलिउडको “राजा” सम्म प्रमोद अग्रहरी

    ३० श्रावण २०७६, बिहीबार
    • एउटा युबक बिहान उठ्छ, र दौडिरहेको रेलको गतिलाई भेट्ने कोशिष गर्दै दौडेर पुग्छ रामलिला नाटकको सेटमा, दिनभर नाटक हेर्छ, खालि पेट फर्कन्छ र भोक र गर्मीले लखतरान भएर ५ रुपैयाको आईस को चोईटो किनेर पेटभरी चपाउछ र आफ्नो गर्मी र भोकलाई शान्त बनाउन कोशिष गर्छ । न त्यसले भोक मार्छ न त उसको कलाकारिताको भोकलाई नै मर्न दिन्छ ।
    • उ दिन भर चलचित्र र हिन्दी सिरियल अनि नाटकको लागि अडिसनमा जान्छ र रातभर आईसक्रिम बेच्न बस्छ, कहिलेकाँहीको आईसक्रिमको टिप्सले उसको आत्मालाई आईसक्रिम भन्दा चिसो बनाउछ अनि उ डेलिभरी गर्न गएको घर मालिक्नीकै अगाडि डाँको छोडेर रुन्छ, थाक्छ तर हार्दैन उ ।
    • दिल्लीको चर्चीत नाटक रामलिलामा परशुरामको अभिनय यसरी जिवन्त गर्छ कि सारा दिग्गज कलाकार नतमस्तक हुन्छन, तालि, प्रशंशा र प्रमाणपत्र मिल्छ तर मिल्दैन त केवल भोक संग जुधिरहेको उसलाई २ रुपैया पनि, संघर्ष गर्दै, कलाकारीता सिक्दै दिल्लीको रामलिलामा राम, कृष्ण बनेर वाहीवाही कमाउछ, बिभिन्न हिन्दी सिरियलमा आफ्नो प्रयास गर्छ। संघर्षले खारिएर, कला चिनेर आफ्नो भुमि फर्कन्छ युवक ।
    • भारतमा नेपालका परशुराम भनेर छापिएर र मनमा छाप बनाउन सफल भएर काठमाण्डौ फर्केको युवक आफ्नै दममा उमामा आफ्नो कला देखाए पछि कहिल्यै फर्केर नहेर्ने गरि नेपाली चलचित्रमा अगि बढ्छ, उडान सुरु हुन्छ तर आफ्नो धरातल र हिडेको बाटो नबिर्सर्दै गुडबाई काठमाण्डौ, सिंहदरबार, छक्कापन्जा जस्ता एक दर्जन भन्दा बढि चलचित्र, टेलिचलचित्र हुदै अघि बढ्छ फरक र अडिग भएर उ, उ अर्थात कलाकार प्रमोद अग्रहरी ।

    २०३९ सालमा नवलपरासीको परासीमा जन्मेका प्रमोद, मार्सल आर्ट लगायतका खेलमा रुचि राख्थे, सन २००४ तिर एक म्युजिक भिडियोमा अभिनय गरेपछि भने उनलाई सिकेर रंग दुनियामा नै केहि गर्ने रहर जाग्यो र उनि हान्निए दिल्ली तर्फ, दिल्लीमा रंगमन्चको अनौपचारीक अध्ययन पश्चात केहि अनुभव लिएर सन २०१२ मा नेपाल आएका प्रमोद अग्रहरी अहिलेको नाम चलेका कलाकारमा गनिन्छन । छक्का पन्जाको बाबा मस्त मौलाले उनलाई धेरै लाई चिन्ने बनायो भने सिंहदरवार टेलिशृंखलाले उनको अभिनयलाई घरघर सम्म पुग्न मद्धत पुयायो । यीनै प्रमोद अग्रहरीसंग उनका जिन्दगीका बिभिन्न पाटाहरु संग रहेर आशिष दुलालले कुराकानी गर्नुभएको छ ।

    प्रमोद जि स्वागत छ ।
    धन्यवाद आशिष जी अनि यँहाको अनलाईनलाई पनि ।

    आजभोलि के मा ब्यस्त?
    आजभोली जायरा भन्ने चलचित्रको प्रचार प्रशारमा ब्यस्त छु, अन्य एक दुईवटा प्रोजेक्टहरु गर्दैछु ।

    नेपाली फिल्ममा एउटा चर्चीत र सफल उपस्थिति भन्न सकिन्छ प्रमोद अग्रहरीलाई, कसरी आईपुग्नु भो?
    सफलताको पछाडि संघर्ष पक्कै छ, म मार्सल आर्ट र खेलमा रुची राख्ने मान्छ पछि एउटा म्युजिकभिडियो खेलेको थिए र पछि म केहि सिक्न भनेर दिल्ली गएँ । त्याहाको संघर्षको कुरा गर्ने हो भने के बताई साध्य छैन, सन २००७ तिर होला सायद, म बिभिन्न अडिसनमा जान्थें, हेर्थे, फर्कन्थें तर त्यहा मेरो खासै चिनजान कसै संग पनि थिएन, केहि दिन मै गएको पैसा सकिदै आईहाल्यो, कमाई थिएन, आउजाउ गर्ने ५ रुपैँया नभएर म दौडेर आउजाउ गर्थे र गर्मी र भोकको डाह मार्न ५ रुपैँयाको आईसको डल्लो चवाउथेंँ, यसले गर्दा म बिरामी पनि परेँ । मैले प्रमोद कश्यपको थियटरमा नेपालिमो अडिसन दिएं र पछि परशुरामको नाटक पनि गरें रामलिलामा हजारौँका बिचमा, त्यती हुदा पनि मैले १ सुका पनि पाउन सकिन, सबैले पैसो पाए म बबुरो नेपालबाट गएको, कसैले मेरो अभाव र गरिबीलाई बुझेनन बरु त्याहाको राष्टीय पत्रिकामा नेपनलका परशुराम भनेर मेरो न्युज चै आएछ । पछि मैले प्रेम मोटियानी जि लाई भेटें, वहा संगको वार्तालाप, संगत र वहाको उपदेस म सानो मेरो मोबाईलमा रेकर्ड गर्थे र पछि कोठामा आएर सुनेर बस्थें अनि भोलिपल्ट प्रतिप्रश्न गर्थें । यस बिचमा मैले सडक नाटक गरें, आईसक्रीम पार्लरमा काम गरेर कोठा भाडा र खाने जोहो गरें, बिभिन्न टेलीभिजनका लागि अडिसन दिएं, कुनैमा पास भएं सुटिंग चल्यो तर कारणवस प्रशारण भएन । तर संघर्ष पश्चात रामलीला लगायतका नाटकले मलाई रंगमंचमा सफल बनायो, म राम बनें, कृष्ण बनें र एउटा माहोल बनाएं २००७ देखि २०१२ को बिचमा ।

    यो त भयो दिल्ली प्रशंग, नेपाली फिल्ममा आउन पनि सहज त पक्कै भएन होला?
    म त्यती खेर, परासीमा थिएं, र चलचित्र उमाको लागि दिपक दाईले फोटो माग्नु भयो तर म सायद छानिईन क्यारे पछि खबर गर्छु भन्नु भयो, त्यो फोटो अलि पुरानो थियो, पछि मलाई भेटे पछि वहाले तत्काल मेरो फोटो सुट गर्नु भयो र अडिसनका लागि बोलाउनु भयो, मलाई थाहा थिएन, थुप्रै अरु पनि थिए, यो एउटा प्रकृया जस्तो मात्र जस्तो लाग्यो, तर पछि परासीमै हुँदा मलाई फोन गरेर बधाई छ प्रमोद तपाँई उमा गर्दै हुनुहुन्छ भन्नु भयो । अनि फेरी वहाले हामि संग पैसा छैन भन्नु भयो, म हासेँ, अनि खान बस्न त दिनुहुन्छ नी भनेँ तर वहाहरुले मेरो लागि ३० हजार व्यवस्था गर्नु भएको रहेछ ।

    त्यसपछि पनि केहि फिल्महरु आए, तर के सिंहदरवार टेलिचलचित्र तपाँईको करीयरको मोड हो?
    अब यसलाई यसरी लिँउ, चलचित्र हेर्ने दर्शकहरुले मलाई नोटिस गरिसक्नु भएको थियो तर सिंहदरवार पछि म दर्शकको घर घरमा पसें, यो एउटा आदर्श नेपालको कथा थियो, गौरी मा (गौरी मल्ल) प्रधानमन्त्री अनि म अर्थमन्त्रि पनि भएं (हास्दै) रियलमा यस्तो असम्भव प्राय छ तर यसले मलाई अझ गहन र वृश्तृत बनायो ।

    नेपाली चलचित्र क्षेत्रमा बिशेषतः मधेसी समुदायबाट प्रतिनिधित्व अहिले त राम्रै छ, मान्नु पर्छ, तर पनि सिमान्तकृत समुदाय या सबैको प्रतिनिधित्व हुन सकेको छैन, तपाँईले सिंहदरबारमा मन्त्री बन्नु भयो, सफल उपस्थीती देखिन्छ, यस्तै सफल उपस्थीती हो नेपालि चलचित्रमा तपाँईको ?

    (गहन मुद्रामा), नेपाली चलचित्रमा मधेसी आदिबासी जनजातिलाई मजाक या कमेडिको रुपमा प्रस्तुत गरीरहेको सवालमा मा हामिले मुलधारका क्यारेक्टरहरु ल्याएका हौं, जसरी नेपाल बहुल जाती र सांस्कृतीक पहिचान भएको मुलुक हो नेपाली चलचित्र पनि कथा र क्यारेक्टरका हिसावले त्यस्तै हुनुपर्ने खासमा त्यस्तो भएन । म आफैले पनि कति मिडियामा जाँदा ईन्डीयन, मधेशी भनेर संबोधन गरेको भोगेको छु, म कलाकार हुँ, मेरो बंशजको नागरीकता छ, जो कसैलाई देखाउनुपर्ने जरुरत छैन (रिसको भाव), म मेरो जन्मभुमीमा गर्व गर्छु, दिल्लीमा १०० कलाकारको बिचमा म नेपाली हुने अनि आफ्नो देसमा म भारतीय हुनें? धोति होस या टोपि होस मनमा नेपाल हुनु पर्छ, मैले अन्तरवार्तामै यसो भनेको पनि छु । अहिले बिस्तार ठिक हुदै छ तर पनि केहि ब्यक्तिको कारणले हाम्रो सदभाव चै पक्कै कमजोर बन्दै छ ।

    हिरो जस्तो कुरा गर्नुहुन्छ, तर एक पछि अर्को भिलेन बन्दै हुनुहुन्छ, किन?
    सायद, मलाई यहि सुहाउछ, म हिरो या भिलेन भनेर हेर्दिन, कलाकार हुँ, मेरो लागि भनेर आएको भुमिका छ जसले मलाई छुन्छ भने म एक सिन भए पनि गर्छु , प्रमोद नभए प्रदिप, प्रदिप नभए अर्को, अनमोल नभए आकास भनेर आउने भुमिका चै मलाई स्विकार्य छैन ।


    कथा काठमाण्डौमा त प्रियका जि संगको अन्तरंग दृष्यले खुब बजार ततायो नी? आवश्यक थियो त्यो?
    हेर्नोस, त्यो कथा हो, १७ सेकेन्डको क्लिप हेरेको भरमा त्यस्तो मुल्यांकन नगर्न आग्रह गर्दछु, त्यो म र प्रियंका हैन, त्यो लिभिंग रिलेसनमा बस्ने जोडिहरु हुन हामीले लिभिंग रिलेसनका मुद्धा र संवेदनालाई उठान गरेका हौ ।


    प्रसंग जायराको, हलिउड लुकको साथमा आउनु भएको छ, कस्तो छ जाईरा?
    हजुर, जाईरामा मैले आफ्नो क्यारेक्टर लाई एक जनावरको बिशेषता दिएको छु, यो पुरै फ्याउरो जस्तो धुर्त पात्र हो, चलचित्र रिलिज हुदैँ छ बाँकी दर्शकले पछि भन्नुहुन्छ ।

    काठमाण्डौमा आए पछि का दिनहरु सफल नै रहे, त्यसो भए?
    हैन, संघर्ष आज पनि जारी छ, हिजो को दिन मा मनोज दाई (मनोज पण्डीत)ले एटिएम बाट निकालेर कोठा भाडा तिर्न र रासन किन्न दिएको त्यो १० हजार पैसा र एटिएमको आवाज अहिले पनि याद आउछ, थुप्रै अग्रजहरुको सहयोग दर्शकहरुको साथले यहा सम्म छु । संघर्ष फरक तहमा छ तर अझै छ । म भुईँ चै बिर्सन्न अनि आवस्यक भन्दा बढि चाप्लुसी पनि र्गिर्दन ।

    प्रमोद कस्तो मान्छे?
    साधारण, काम नभए साँझ पछि कोठामा गएर खाना पकाएर बस्ने मान्छे , जाँड रक्सी माछा मासु नखाने साधारण ।
    खाना आफै पकाउने, भने पछि बिहे गर्न दबाव आउन्न?
    (हल्का हासो) आँउछ, अब कैले भन्ने चै थाहा छैन, बिहे त गर्नु छ एक दिन अवश्य, हेरौं ।

    चलचित्रमा लागेर ग्लानी भा को छ कहिले?
    खास छैन, यसै क्षेत्रले नाम, दाम, काम दियो, मैले आमाको लागी केहि गर्न पाईन वँँहा धेरै वर्ष अघि स्वर्गीय भैसक्नु भयो, त्यो संझीदा मन रुन्छ, अनि मधेसी पहाडि, जातीय राजनिती संझिदा पनि रगत उम्लेर आँउछ ।
    भनेपछि रुनु पनि हुन्छ?
    अ, म पैले खुब रुन्थें, अलि ईमोसनल छु, कलाकारहरु हुन्छन पनि, तर आजभोलि निक्कै कम भएको छ।

    भविश्यको केहि योजना बुन्नु भा को छ ?
    हेरौं, शिव जि ले माता रानीले के गर्नु हुन्छ, आफ्नै कम्पनीबाट केहि काम गर्ने, राम्रा फिल्महरु गर्दै जाने यस्तै त हो ।

    फेसबुक प्रतिक्रिया